योजनाको निगरानी जनस्तरबाट गरौंः मुख्यमन्त्री आचार्य

अर्घाखाँची,
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले विनियोजन गरेका योजनाको गुणस्तरीय कार्यान्वयनमा ध्यान दिन आग्रह गरेका छन । शितगंगा नगरपालिकाका जनप्रतिनिधिहरु संग बुधवार गाउँकार्यपालिकाको कार्यालयमा भएको छलफलमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले स्थानीय तहमा विनियोजन गरेर पठाएका योजनाको सहि र गुणस्तरीय कार्यान्वयनमा ध्यान दिन आग्रह गरेका हुन । प्रदेश सरकारले पाँच लाख भन्दा माथिका सबै योजना प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयन गर्ने परिपत्र गरेको जानकारी गराउदै योजना कार्यान्वयनको प्रकृया तत्काल थाल्न आग्रह गरेका हुन ।‘योजना माग हुने । बजेट पर्ने तर, कार्यान्वयन नहुने समस्या छ । गुणस्तरीय कामका लागी नागरिक तहबाट पनि अनुगमन हुनुपर्छ’ उनले भने, ‘योजना कार्यान्वयनमा कुनै सम्झौता नगर्नुहोस । राम्रो काम गरेपछी त्यसले जनतालाई सकारात्मक लाभ दिन्छ ।’ योजना कार्यान्वयनमा हुने भ्रष्ट्राचार र बदमासी रोक्न पाँच लाख भन्दा माथिका योजनालाई प्रतिस्पर्धाबाट कार्यान्वयन गर्ने नीति अवलम्बन गरिएको मुख्यमन्त्री आचार्यले बताए । समृद्ध र आत्मनिर्भर प्रदेश निर्माण गर्न सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार तथा मानवीय विकासलाई प्राथमिकता राखेर काम अघि बढाएको बताए ।
छलफलमा शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलले नगरपालिका संग जोडिएका मुख्य सडकहरुलाई कालोपत्रे गर्न प्रदेश सरकारले सहयोग गर्नुपर्ने, नदीजन्य पदार्थको उत्खनन र व्यवस्थापनमा कानुनी जटिलता रहेको भन्दै प्रदेश तहबाट सुल्झाउन आग्रह गरे। उपप्रमुख गिताराना भाटले स्थानीय तहले अघि बढाएका प्राथमिकताका योजनाहरुमा प्रदेश सरकारले साथ दिनुपर्ने बताइन । उनले शिक्षा, स्वास्थ्य तथा भौतिक सुधारका लागी पालिकाको बजेटले मात्रै नपुग्ने भन्दै प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताईन ।