वनमन्त्री कुर्मीले दिए राजीनामा

बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप लागेका लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन्। मन्त्री कुर्मीलाई बर्खास्त गर्न महिला अधिकार मञ्च बांके सहित विभिन्न संघ–संस्थाले एक महिनादेखि काठमाडौंमा धर्ना र माइतीघर मण्डल–बालुवाटार पैदलमार्च सम्मका आन्दोलन गरेका थिए । यस्तै नेपाल कम्युनिष्ट पार्टी (वहुमत)ले समेत मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाउंदै मन्त्री कुर्मीलाई कारवाही गर्न माग गरेको थियो । कुर्मी साउन ९ गते मन्त्री नियुक्त भएका थिए । उनको नियुक्तिले कांग्रेसभित्रै असन्तुष्ट पैदा भएकाे थियो । कुर्मीलाई मन्त्रीका लागी दलका नेता डिल्लीबहादुर चौधरीले सिफारिस गरेका थिए । कांग्रेस लुम्बिनी प्रदेश समितिले भने सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र दिएर कुर्मीलाई मन्त्री बनाउने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको थियो। राजीनामा दिन दवाव र आलोचना बढेपछि मुख्यमन्त्री आचार्यले राजीनामा दिन उपयुक्त हुने सन्देश मन्त्री कुर्मीलाई दिएका थिए । आज मुख्यमन्त्री आचार्य र कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीबीच कुर्मीको राजीनामाबारे छलफल भएकाे थियाे । छलफलपछि चौधरीले पनि राजीनामा दिन उपयुक्त हुने सुझाव दिएका स्रोतको भनाई छ । सुझाव लगतै कुर्मीले मुख्यमन्त्री आचार्यलाई राजीनामा बुझाएकाे स्रोत जनाएकाे छ ।