अनेरास्ववीयुको माग ः छात्रवृत्तिमा पढेका विद्यार्थीहरुलाई अनिवार्य ग्रामिण क्षेत्रमा काम गर्नुपर्ने व्यवस्था होस्

अनेरास्ववीयुको माग ः छात्रवृत्तिमा पढेका विद्यार्थीहरुलाई  अनिवार्य ग्रामिण क्षेत्रमा काम गर्नुपर्ने व्यवस्था होस्

काठमाडौ., उच्च शिक्षा लिएका विद्यार्थीहरुको पलायन रोक्न र सरकारी स्रोतको सदुपयोग गर्न चिकित्सा शास्त्रमा जस्तै अन्य संकायको पढाइमा पनि अनिवार्य ग्रामिण क्षेत्रमा काम गर्नुपर्ने व्यवस्था गर्न विद्यार्थीहरुले माग गरेका छन् । 

अखील नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पोखरा विश्व विद्यालय उपत्याका जिल्ला कमिटीले सरकारी आर्थिक स्रोतबाट छात्रवृत्तिमा उच्च शिक्षा पढेका विद्यार्थीलाई अनिवार्य रुपमा आफ्नो स्थानीय तह वा ग्रामिण क्षेत्रमा काम गर्नुपर्ने व्यवस्था गर्न माग गरेको हो  । 

युनियनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई ज्ञापन पत्र बुझाउदै सरकारी छात्रवृत्तिमै पढेका विद्यार्थी पढाइ पूरा हुनासाथ विदेश जाने परिपाटीले नेपालको शिक्षा र युवा नीतिमाथि नै प्रश्न उब्जेको भन्दै रोक्न माग गरे । सरकारी छात्रवृत्तिमा पढेका विद्यार्थीले पढाइ पूरा गरेपछि देशमा कुनै पनि सेवा गर्नु नपर्ने प्रावधानले देशको स्रोत दुरुपयोग भएको बताउदै त्यसलाई परिमार्जन गर्न माग गरे ।

यसले सरकारी रकमबाट उच्च शिक्षा लिएका विद्यार्थीहरुको सुबिधा देशले लिन सक्ने र सेवा थालेपछि विदेश पलायन हुने क्रम कम हुने युनियनको दाबी छ । 

युनियनले शिक्षा ऐन सुधार गरी सरकारी छात्रवृत्तिमा जुनसुकै संकाय पढेका विद्यार्थीलाई पनि १ देखि २ वर्ष अनिवार्य आफ्नो स्थानीय तह वा ग्रामिण क्षेत्रमा काम गर्नुपर्ने व्यवस्था लागू गर्न माग गरे । उक्त सेवा नगरे विद्यार्थीबाट पढाइका लागि लागेको खर्च परिपूरण गराउने व्यवस्था गर्न समेत माग गरे । उच्च शिक्षा पढेका युवाको पलायन रोक्न विशेष नीति ल्याउन एवं शिक्षामा अनुगमन मूल्यांकनका प्रभावकारी नीति अपनाउन समेत माग थरेको युनियनका शरद पाण्डेले बताए ।

पोखरा विश्वविद्यालयमा मात्रै प्रत्येक वर्ष १ हजार २९९ विद्यार्थीले छात्रवृत्तिमा पढ्ने गरेको तथ्यांक छ । यस तथ्यांकले युवाको शिक्षामा देशको प्रसस्त लगानी रहेको पुष्टि गरेको छ । 


.