अपांगता भएका महिलाको प्रजनन स्वास्थ्य र पारिवारिक सुरक्षाका विषयमा ध्यान दिन आग्रह

अपांगता भएका महिलाको प्रजनन स्वास्थ्य र पारिवारिक सुरक्षाका विषयमा ध्यान  दिन आग्रह

 बुटवल, राज्यका संरचना र व्यवहार अपांगता मैत्री नहुदा अपाङ्गता  भएका व्यक्तिहरुले हरेक क्षेत्रमा असुरक्षा र जटिलता भोग्नुपरेको भुक्तभोगीहरुले बताएका छन् । 

लैंगिकताका रुपमा अपांगता भएका पुरुष भन्दा महिला तथा बालिकाको सुरक्षा जटिल हुने भएकाले थप संवेदनशील हुन उनीहरुले आग्रह गरे । 

एक्सेस प्लानेटले सोमबार रुपन्देहीमा आयोजना गरेको अपांगता भएका महिला तथा बालबालिकाहरुका सवाल विषय कार्यक्रममा सहभागीले शिक्षा र सुरक्षाबारे थप जटिलता हुने भएकाले घरपरिवारदेखि समाज र राज्यले फरक सुबिधा मिलाइदिनुपर्ने उनीहरुले बताए ।  उनीहरुले अपांगता भएका महिला र बालिकाको रोजगार, प्रजनन तथा पारिवारिक र सामाजिक सुरक्षाकै बढी चिन्ता रहेको पनि बताए । 

एक्सेस प्लानेटका कार्यकारी निर्देशक लक्ष्मी नेपालले प्रदेशभरमा यसको तथ्यांक निकालेर उनीहरुको अधिकार प्रत्यायोजनका लागि वातावरण बनाउने बताइन् । उनले अपांगता भएका ब्यक्तिमाथि सकारात्मक दृष्टिकोणको खाँचो रहेको बताउँदै अपांगताको परिभाषा र तथ्यांकका विषयमा समाजलाई सचेत पार्नुपर्ने जनाइन् । नेपालमा अपांगता भएका व्यक्तिका लागि सीप अवरोध भएकोले वास्तविक समस्या पहिचान गर्ने उनको भनाइ छ । नेपालमा अपांगतालाई १० प्रकारमा बिभाजन गरेको भएपनि राज्यबाट पाउनुपर्ने कतिपय सेवा सुविधा र अधिकारबाट बञ्चित हुनुपरेको, बौद्धिक अपांगता ,अपांगता भएका महिला वालवालिकाहरुको सवालमा सञ्चारमाध्यमले अझैबढी आवाज उठाउन आवश्यक रहेको, सञ्चार माध्यमले अपांगता सम्बन्धी मर्यादित शब्दहरुको प्रयोग गर्नुपर्ने, दयामुखी अवधारणा भन्दा अधिकारका बिषयमा बृहत जानकारी दिने काममा साथ दिन उनको आग्रह थियो । 

 संचारिका समूह लुम्बिनी अध्यक्ष अमृता अनमोलले अपांगता भएका महिलाको प्रजनन स्वास्थ्य र पारिवारिक सुरक्षाका बिषयमा ध्यान नगएकोले यो विषय ध्यान दिन सुझाव दिइन् । कार्यक्रममा एक्सेस प्लानेटका फाईनान्स अफिसर सन्जु श्रेष्ठले अपांगता भएका नागरिकको अधिकार प्रत्याभूतका लागि सबै क्षेत्रको सहयोगको साथ आवश्यक रहेको बताएका थिए ।

 नेपालको जनगणना २०७८ का अनुसार २ दशमलब २ प्रतिशत जनसंख्यामा अपांगता रहेको जसमध्ये ४५ दशमलब ८ महिला र ५४ दशमलब २ प्रतिशत पुरुषको संख्या छ । विश्व स्वास्थ्य संगठनको प्रक्षेपण अनुसार विश्वमा १६ प्रतिशत गम्भिर अपांगता भएका व्यक्तिहरु छन् । नेपालमा करिब १० प्रतिशत व्यक्तिमा अपांगता रहेको आकलन गरिएको छ। 

कार्यक्रममा सहभागीले प्रदेशमा अपांगता समस्या र व्यक्तिबा बारेमा तथ्यांक संकलन गरेर अगाडि बढ्न सुझाव दिएका थिए ।अपाङ्गता भएका पुरुषभन्दा महिलामा शिक्षा, रोजगार, प्रजजन तथा पारिवारिक र सामाजिक सुरक्षाकै बढी समस्या रहेकोले यसमा ध्यान सहभागीले सुझाएका थिए । अपांगता क्रस कटिड. इस्यु भएकाले त्यसमा सबै क्षेत्रका व्यक्ति र सस्थाले काम गर्न पनि उनीहरुले आग्रह गरेका थिए । 

,