एकल महिलाका लागि क्षमता अभिवृद्धि कार्यक्रम

बुटवल, एकल महिलाको सशक्तिकरणका लागि के गर्नुपर्ला ? यसका उपाय धेरै हुनसक्छन् । बुटवलमा भने एकल महिलाको क्षमता विकास कार्यक्रम आयोजना गरिएको छ । एकल महिलाका स्थानीय लिडर र कार्यसमितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धि तथा सकारात्मक रुपान्तरण सम्बन्धी ३ दिने तालिम बुटवलमा सम्पन्न भएको हो । कुर्भे स्टोभको सहयोगमा मानव अधिकारको लागि महिला एकल महिला समूह रुपन्देहीले तालिम आयोजना गरेको हो । तालिममा बुटवल उपमहानगरका एकल महिला समन्वय संजालका अध्यक्ष तथा पदाधिकारीहरु सहभागी भएका थिए ।
कात्तिक ४ देखि सुरु भएको तालिम ३ दिनसम्म संचालन भएको थियो । तालिममा संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले सहजीकरण गर्नुभएको थियो । तालिममा एकल महिलाका समस्या तथा सवाल पहिचान गरी सकरात्मक रुपान्तरणबारे छलफल गरिएको थियो । यस्तै, अत्यावश्यक पर्ने निवेदन लेखन, सिफारिस माग, संघसस्था संचालन, बैठक संचालन, कार्यक्रम संचालन लगायतका बारेमा सहजीकरण भएको थियो ।
तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिका ९ का वडाअध्यक्ष प्रदीप कुमार श्रेष्ठले एकल महिलाको क्षमता विकास र सशक्तिकरणमा स्थानीय लिडरले भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाले निवेदन लेखन, बैठक संचालन र माइन्युट सम्बन्धी ज्ञान समाजमा जहा पनि आवश्यक पर्ने भएकाले एकल महिलाहरु यसबारेमा अब्बल बने जुनसुकै संघसस्था संचालन गर्न सकिने बताउनुभयो । नेतृत्व सम्बन्धी सीपले घरपरिवार राम्रोसित व्यवस्थापन गर्न मात्रै होइन समुदाय संचालन गर्न सकिने भएकाले त्यसलाई राम्रोसित व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष राधिका श्रेष्ठले एकल महिला सधै विचरा र निरीह नभइ सशक्त भएर घरपरिवार र समुदायमा उपस्थित हुनुपर्ने बताउनुभयो । सचिव रीता सेनले संचालन गरेको संचालन गरेको कार्यक्रममा बुटवल ११ का वडा सदस्य माया दर्नाल, एकल महिला समूह लुम्बिनीका अध्यक्ष जानकी अर्याल लगायतले सकरात्मक रुपान्तरणबारे बताउनुभएको थियो ।
.