शहीद स्मृति सदाचार जागरण पुरस्कारबाट संचारिका समूह लुम्बिनीकी अध्यक्ष अमृता अनमोल सम्मानित

2081 कार्तिक 24 गते
शहीद स्मृति सदाचार जागरण पुरस्कारबाट संचारिका समूह लुम्बिनीकी अध्यक्ष अमृता अनमोल सम्मानित

भैरहवा,

शहीद स्मृति पुस्तकालयले आफ्नो २३ औं वार्षिक साधारण सभाको अवसरमा संचारिका समूह लुम्बिनीकी अध्यक्ष अमृता अनमोललाई शहीद स्मृति सदाचार जागरण पुरस्कार प्रदान गरेको छ। नगद ३१ हजार, दोसल्ला, र सम्मानपत्रसहित अनमोललाई सम्मान गरिएको हो। पुस्तकालयका अध्यक्ष रुद्धप्रसाद ज्ञवालीका अनुसार अनमोललाई राष्ट्रमा बढ्दो भ्रष्टाचार र कुसाशनजस्ता विकृतिविरुद्ध जागरूकता फैलाउँदै समानतामूलक राष्ट्र निर्माणमा योगदान गरेबापत सो पुरस्कार प्रदान गरिएको हो।

सिद्धार्थ नगरपालिकाका दीर्घराज काफ्ले र शारदादेवी काफ्लेले शहीदहरूको स्मृतिमा राष्ट्रका लागि निस्वार्थ भावले जीवन उत्सर्ग गर्ने योगदानको कदरस्वरूप यो पुरस्कारको अक्षयकोष स्थापना गरेका हुन्।कार्यक्रममा अन्य विभिन्न पुरस्कारहरू पनि प्रदान गरियो। नेत्रशोभा स्मृति साहित्य पुरस्कार साहित्यकार श्रेष्ठप्रिया पत्थरलाई, रमाकला वृद्धिनाथ स्मृति पुरस्कार समाजसेवी कलाधर पन्थलाई, कालिका जगन्नाथ प्रतिभा पुरस्कार क्रिकेट खेलाडी शक्ति गौचनलाई, विश्राम ढकाल प्रतिमा पुरस्कार क्रिकेट खेलाडी आरिफ खानलाई, गंगादेवी नरनारायण साहित्य पुरस्कार साहित्यकार श्यामप्रसाद न्यौपाने र रञ्जु गौतमलाई, सरस्वती दशरथ भट्ट पुरस्कार शिक्षाविद् शंकरानन्द शर्मालाई, सजिया दरवारी मण्डल स्मृति कृषि पुरस्कार कृषक प्रेमबहादुर गोदारलाई, निरञ्जन स्मृति स्वास्थ्य सेवा पुरस्कार केशव ढकाललाई, नथमल गिनियादेवी अग्रवाल स्मृति समाज सेवा पुरस्कार मायादेवी खराललाई, जीवनलक्ष्मी शैक्षिक पुरस्कार कन्चन बनिया, आयुषा भट्टराई र कामाक्षा गुप्तालाई, कान्ता कृष्ण प्रतिभा पुरस्कार आयुष गुप्तालाई, र वेदिकला दिवाकर अधिकारी स्मृति शिक्षा पुरस्कार सन्देश बराईलाई प्रदान गरिएको थियो।कार्यक्रमका संरक्षक दीर्घराज काफ्लेका अनुसार कुल १८ जनालाई सम्मानित गरिएको हो।