के सिकाउँदै छन् आमा-बुवा ?

कृष्णप्रसाद सुवेदी
मधेशको एक घरमा पाहुना भएर बास बसेको थिएँ । कपी, किताब फिजारेर होमवर्क गर्दै गरेकी एक बालिकालाई ‘नानु, तिम्रो नाम के हो रु कति कक्षामा पढ्छ्यौ रु’ भन्दै सोधें । उनले नाम बताइन् । पाँच कक्षामा पढ्छु भनिन् । उमेर सोध्दा उनले ‘कुन ठाउँको उमेर बताऊँ अंकल’ भनिन् । म छक्क परें ।
उमेर पनि ठाउँअनुसार फरक–फरक हुन्छ र रु उनी भन्न थालिन्, ‘अंकल, स्कुलमा हामी पाँच जना एउटा बेन्चमा बसेको देख्दा मेरी मामुले यिनीहरू ठूला भइसके, यसरी एउटा बेन्चमा पाँच–पाँच जना किन कोचेर राखेको भन्दै स्कुल प्रशासनलाई भन्नुभयो । एउटा बेन्चमा चार–चार जना मात्रै राख्न लगाउनुभयो । त्यतिखेर मलगायत मेरा साथीहरूलाई हामी ठूला भएछौं भन्ने लाग्यो ।’
छठ पर्वको छुट्टीमा मामुसँग आफू जनकपुर घुम्न गएको प्रसंग पनि उनले निकालिन् । ‘जनकपुर जाने बसमा चढ्न लाग्दा ढोकामा उभिएको कन्डक्टरले कहाँ जाने भन्दै भाडा माग्न थाले । मामुले पैसा निकालेर दिनुभयो । कन्डक्टरले यो बेटीको पनि भाडा लाग्छ, हाफ भाडा दिनु भन्न थाले । मामुले काखमा लिँदै यति सानी सात वर्षकी बच्चीको पनि कहीं भाडा लाग्छ भन्दै कराउनुभयो । यस्तै, बाबाले आठ कक्षामा फस्ट भयौ भने प्लेनमा काठमाडौं घुमाउन लैजान्छु भन्नुभएको थियो । म फस्ट भएँ । बाबाले बर्दिबासको टिकट काउन्टरमा जनकपुरबाट काठमाडौंको प्लेनको टिकट काट्न मलाई लिएर जानुभयो । सानी छ वर्षकी छोरी छे, उसको त भाडा लाग्दैन नि भन्दै बाबाले सोध्नुभयो । तर, काउन्टरको अंकलले दुई वर्षदेखि बाह्र वर्षका बालबालिकालाई तेत्तीस प्रतिशत भाडा लाग्छ भने । प्लेनको टिकट त दुई–तीन दिन अगाडि नै काट्नुपर्दोरहेछ । बसमा चढेपछि भाडा दिए जस्तो प्लेनमा त नमिल्ने रहेछ हगि अंकल ’
‘काठमाडौं कस्तो लाग्यो त रु’ मैले सोधें । उनले जावलाखेलको चिडियाखाना पनि घुमेको बताइन् । ‘चिडियाखानाभित्र पस्न टिकट काट्नुपर्ने रहेछ । बाबाले उमेर सोधे भने आठ वर्ष भन है भन्नुभयो । चिडियाखानामा म आठ वर्षकी भएँ । टिकट काट्ने ठाउँमा सूचना भनेर पालना गर्नुपर्ने नियममा आठ वर्षभन्दा माथिका सबैलाई पूरा शुल्क लाग्ने लेखेको रहेछ,’ उनले भनिन्, ‘यस्तै, तिलगंगा आँखा अस्पतालमा जाँदा बाबाले आफ्नो उमेर तेह्र वर्ष भन्न लगाउनुभयो । ल, भन्नु त अंकल म कति वर्षकी भएँ .’
म सोचमग्न भएँ । प्रत्येक आमा–बुवाको चाहना आफ्ना छोराछोरी असल बनुन्, ज्ञानी बनुन्, झूटो नबोलुन् भन्ने नै हुन्छ । सोहीअनुरूप छोराछोरीलाई सिकाउने गर्छन् । तर, बोलीचालीमा सिकाउने र व्यवहारबाट साना नानीहरूले सिक्ने दुई फरक पाटा हुन् । हाम्रो ध्यान केवल मौखिक रूपमा सिकाएको मात्रै बालबालिकाले सिक्छन् भन्ने हुन्छ । तर यथार्थ त्यस्तो हुँदैन । छोराछोरीलाई असल बनाउने नाममा हामी आमा–बुवा आफ्नो धारणा थोपर्छौं । आफूलाई विश्वास लागेको, आफूले गरेको सबै ठिक भन्दै अनुसरण गर्न लगाउँछौं । आमा–बुवाले छोराछोरीमा आफ्नो कुरा लाद्ने होइन, बरु छोराछोरीले मनमा लागेका जिज्ञासा राख्न सक्ने सहज वातावरण निर्माण गर्नुपर्छ ।
आमा–बुवाले छोराछोरीसँग गर्ने अर्को गल्ती भनेको नक्कल गर्न सिकाउनु हो । ऊ हेर त फलानोको छोरो यस्तो छ, ढिस्कनाकी छोरीले यस्तो प्रगति गरी भनेर कहिल्यै भन्नु हुँदैन । आफ्नो महत्त्वाकांक्षा पूरा गर्न छोराछोरीलाई माध्यम नबनाऔं । अरूको नक्कल गर्न नलगाऔं । आमा–बुवासँग अतीत छ । अतीतको बोझ छ । निराशा छ । असफलता छ । असन्तुष्टि छ । कुण्ठा छ । छोराछोरीलाई भने यस्तो बन, उस्तो बन भनेर अर्ती–उपदेश दिन्छौं । प्रत्येक बालबालिका अनमोल रत्न हुन् । असल आमा–बुवाले अनमोल रत्नको संरक्षण गर्न सक्नुपर्छ । संरक्षण गर्नु भनेको सन्तानका लागि सहज र सुरक्षित वातावरण सिर्जना गर्नु हो । जहाँ उनीहरू स्वतन्त्र, आत्मनिर्भर र जीवनप्रति सकारात्मक दृष्टिकोण राख्न सकुन् । छोरा–छोरीको जीवन व्यक्तिगत हुन्छ । व्यक्तिगत जीवनमा गोपनीयता हुन्छ । स्वतन्त्रता हुन्छ ।
आफ्नो स्वार्थका लागि बालबालिकामा अन्तरनिहित क्षमता नष्ट हुनेगरी अरूको सिको गर्न लगाउनु हुँदैन । उनीहरूलाई आफ्नो उज्ज्वल भविष्यको मार्गमा अघि बढ्न प्रोत्साहन दिनुपर्छ । उनीहरूलाई आमा–बुवाले दिने सबैभन्दा अमूल्य उपहार निःस्वार्थ प्रेम हो ।
.