‘खेलाडीलाई पलायन हुनबाट राज्यले रोक्नुपर्छ’

बास्केटबलकी राष्ट्रिय खेलाडी अनुशा मल्ल बाल्यकालदेखि खेलप्रति रुचि राख्थिन् । अन्ततः अनुशा आफ्नो रुचि र लक्ष्य हासिल गर्न सफल भइन् । सन् २०१२ मा बास्केटबलमा डेव्यू गरेकी अनुशाले हालसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भई खेल कौशल देखाइसकेकी छिन् । सन् २०१२ एसियन बिच गेम्स, एसियाली खेलकुद च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुद सागमा नेपालको प्रतिनिधित्व गरेकी अनुशाले सन् २०१६ र २०२२ मा साबा च्याम्पियनसिप र २०१९ मा साग गेम्समा रजत पदक जितिन् ।
एक दशकदेखि राष्ट्रिय टिममा रहेकी अनुशा अहिले टिमकी सबैभन्दा अनुभवी खेलाडी पनि हुन् । भर्खर मात्र उनी बास्केटबल राष्ट्रिय टिमको कप्तान नियुक्त भएकी छिन् । सपोर्ट साइन्समा मास्टर डिग्री अध्ययन गरिरहेकी अनुशा मल्लसँग रेजिना पाण्डेको जम्काभेट :
हालैमात्र सिकिममा भएको गेममा स्वर्ण पदक जितेर फर्किनुभएको छ, कस्तो अनुभव भइरहेको छ ?
धेरै खुसी लागेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर दजनौँ गेम खेलिसकेँ । जसबाट कास्य पदक र अन्य धेरै पुरस्कारहरू पाएकी थिएँ । तर, स्वर्ण पदक जित्ने अवसर मिलेको थिएन । अहिले आएर स्वर्ण पदक पाउँदा निकै उत्साहित भएकी छु । बास्केटबल भनेको टिम गेम हो, सम्पूर्ण खेलाडीको मिहेनतको नतिजा हो ।
देशलाई चिनाउन पाउँदा कतिको गर्व लाग्छ ?
त्यो कुरा त भन्नै पर्दैन । धेरै खुसी लाग्छ । मैले देशका लागि केही गर्ने मौका पाएँ । अझ धेरै उत्कृष्ट गेम खेलेर आफ्नो देशलाई चिनाऊँ जस्तो लागिरहन्छ ।
जितको श्रेय कसलाई दिनुहुन्छ ?
विशेषगरी मेरो ममी, बाबा र मेरो दिदी अलिशा मल्ल, भिनाजु विनोद श्रेष्ठ र मेरो गुरुहरूलाई दिन चाहन्छु । जसले प्रेरणा र हौसलाको ऊर्जा पाएँ, उहाँहरूकै हौसलाका कारण आज राष्ट्रिय स्तरको खेलाडी भएर चिनिने अवसर पाएको छु ।
राष्ट्रिय टिमको क्याप्टेन हुनुभएको छ, कस्तो महसुस भइरहेको छ ?
खुसी छु । सन् २०१२ देखि आजसम्म निरन्तर बास्केटबल खेलिरहेको छु । बास्केटबल संघले दिएको जिम्मेवारीलाई वहन गर्दै अझ राम्रो गर्दै जानेछु ।
खेलको सुरुवात कसरी भयो ?
मेरो दिदी अनिशा मल्ल बास्केटबल खेल्नुहुन्थ्यो । उहाँ स्कुल टिममा पहिलेदेखि नै खेल्नुहुन्थ्यो । दिदीलाई फलो गर्दागदै बास्केबट खेलको सुरुवात गरेकी हुँ । सुरुमा ओपन गेमहरू खेल्न थालेँ, त्यसपछि नेपाल पुलिस क्लबबाट खेल्न थालेँ । प्लस–टु पढ्दै गर्दा एउटा ‘एशियन बिच गेम’ थियो । त्यसपछि नेशनल टिममा डेव्यु भयो । हालसम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दजनौँ गेम खेलिसकेँ ।
खेलमा बास्केटबल नै किन रोज्नुभयो ?
खेल्न त अरू गेम पनि खेल्थेँ । तर, बास्केटबलप्रति मेरो बेग्लै लगाव भयो र दिदीलाई पछाउँदै जाँदा बास्केटबलप्रति आकर्षण बढ्यो ।
खेल्नका लागि पारिवारिक सपोर्ट कतिको पाउनुभएको छ ?
सपोर्ट पाएकी छु । घरपरिवार आमाबुबाले जे गरे पनि राम्रो गर, अनुशासित भएर गर । तर पढाइलाई चाहिँ निरन्तरता देऊ भनिरहनुहुन्थ्यो । मैल पढाई र खेललाई मिलाएर नै लगे ।
एउटा राम्रो खेलाडी हुनका लागि के–के योग्यता चाहिन्छ ?
मुख्य कुरा त, अनुशासन र इमानदारिता नै हो । साथै, मिहेनत र साधना पनि उत्तिकै चाहिन्छ ।
नेपालमा बास्केटबल खेलको अवस्था कस्तो छ ?
राम्रो छ । तर, एउटा खेलाडीलाई राज्यले हेरिदिए अझ राम्रो हुने थियो । राज्यले खेलाडीको लागि योजनाहरू बनाएर कदम चाल्न सके अझ राम्रो हुने थियो ।
खेलबाहेक अरू के गर्नुहुन्छ ?
म लिंकन स्कुलमा फिजिकल एजुकेसन ट्रेनरको रुपमा कार्यरत छु । त्यसैले म टेनिङमै व्यस्त हुन्छु ।
राज्यले खेलाडीका लागि कस्ता योजना बनाए हुन्थ्यो जस्तो लाग्छ ?
विदेश पलायनबाट रोक्न खेलाडीलाई सामान्यतया खर्च पुग्ने गरी मासिक पारिश्रमिक र बिमाको व्यवस्था गरिदिए हुने थियो ।
खेलबाट पहिलो चोटि कति पारिश्रमिक पाउनुभएको थियो ?
त्यति बेला म नेपाल पुलिस क्लबबाट खेल्थेँ । एसएलसी दिएपछि प्रिमियम बलमा मलाई सेलक्ट गरिएको थियो । त्यतिबेला मैले मासिक ५ हजार तलब पाएकी थिएँ । त्यो मैले केही रकम ममीलाई दिएकी थिएँ । साउथ गेमबाट चाहिँ राम्रो आम्दानी भएको थियो ।
ममी–बाबा लन्डनमा हुनुहुन्छ, तपाईँ किन जानुभएन ?
मेरो परिवार लन्डनमा बसेको वर्षाैँ भइसक्यो । ममी–बाबा उतै सेटल भइसक्नुभएको छ । तर, मलाई बास्केटबलले कतै जान दिएन । यो खेल छोडर जान मन पनि लागेन । बास्केटबलले मलाई नेपालमै राखेको छ ।
बास्केटबललाई ‘ग्लामरस गेम’ पनि भन्छन् नि, हो ?
हो, एउटा खेलाडीले आफूलाई कसरी मेन्टेन गर्ने ? कसरी प्रिजेन्ट गर्ने ? र, कसरी हेल्दी राख्ने भन्ने कुराहरू हुन्छन् ।
महिला भएकाले आफ्नो क्षेत्रमा केही तित्ता अनुभव बेहोर्नु परेको छ कि छैन ?
धेरै छन् । महिला खेलाडी भएकै कारण प्राइज र ट्रफीमा छुटाइन्छ । यो चाहिँ मलाई चित्त बुझ्दैन ।
पढाई र खेलमा कसरी समय मिलाइराख्नु भएको छ ?
आफूलाई खेल्नु छ भने सबै कुराको म्यानेज हुन्छ । मनमा लगनशीलता र उत्साह भएपछि समयलाई म्यानेज गर्न गाह्रो हुँदैन ।
छोरी भएर जन्मनुमा कस्तो लागिरहेको छ ?
मलाई गर्व लाग्छ । आज छोरा मान्छेले गर्न नसकेका धेरै काम छोरीहरूले गरेका छन् । नाम र दाम कमाएका छन् । र, मेरो घरमा छोरा र छोरीमा भेदभाव छैन ।
साभार :दृष्टि न्युज