संचार माध्ययमलाई लैंगिक र सामाजिक समावेशीकरण मैत्री बनाउनेबारे बुटवलमा नीतिगत बहस

बुटवल,
संचार माध्ययमलाई लैंगिक र सामाजिक समावेशीकरण मैत्री बनाउनेबारे बुटवलमा नीतिगत बहस थालिएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर संचारिका समूह नेपाल लुम्बिनीले संचारमाध्ययलाई लैंगिक र समावेशी बनाउनेबारे नीतिगत बहस थालेको हो । मोफसलको राजधानी भनेर चिनिने रुपन्देहीमा धेरै स्थापित संचारगृह भएपनि लैंगिक समानता नीति बनाएका छैनन् । रेडियो लुम्बिनीले संचार नीति बनाएको भएपनि अहिले निश्क्रिय छ । संचारनीति नहुदा संचार गृहलाई लैंगिक मैत्री बनाउन र समावेशी विषय उत्पादन गर्न कठिन छ ।
नीतिगत बहसमा सहभागी संचार गृहका संचालक, व्यवस्थापक र सम्पादकहरुले नीति नहुँदा लैंगिकता र समावेशीतामा केही खालीपन रहेको बताए । उक्त खालीपन पूर्ति गर्न संचारमाध्ययममा लैंगिक नीति बनाउने र व्यवहारमा लागू गर्नेमा उनीहरु प्रतिवद्ध भए । बहसमा पत्रकार सीपी खनालले अवधारणापत्र प्रस्तुत गर्दै आवाज वीहिनको आवाज भनेर चिनिने संचारमाध्ययमलाई व्यवहारमा लागू गर्न लैंगिक र सामाजिकमैत्री व्यवस्थापन र विषयवस्तु उत्पादन बढाउनुपर्ने बताए । उनले विषयवस्तु छनोट र तिनमा पात्र छनोटमा समेत समावेशीता नभएको बताउदै यसमा सुधार जरुरी रहेको बताए । उनले भने, ‘संचारमाध्ययममा करिब २४ प्रतिशत मात्र पत्रकार महिला छन् । सम्पादक तथा समाचार कोडिनेटर महिला असाध्यै कम छन् । समान पारिश्रमिक, प्रजनन सुविधा लगायतको व्यवस्था नहुँदा टिक्न पनि समस्या छ।’ यस्तो अवस्था हुन नदिन महिला तथा समावेशी क्षेत्रको पनि सहभागिता र नेतृत्व बढाउन आवश्यक रहेको बताए । कार्यपत्रमाथि टिप्पणी गर्दै सामुदायिक रेडियो प्रशारक संघका अध्यक्ष मोहन चापागाईले राज्य समावेशी भएका बेला संचारमाध्ययमलाई लैंगिक र समावेशी बनाउनु आवश्यकता र कर्तव्य दुवै भएको बताए । उनले आफू नेतृत्वमा रहदा रेडियो लुम्बिनीमा लैंगिक नीति बनाएको र सामुदायिक रेडियोहरुमा पनि लैंगिक समावेशी नीति बनाउन अभियान चलाएको बताए । ‘संचार माध्ययम कुनै वर्ग र लिंगको मात्र नभएर सबै समूदायको भएकाले लैंगिक मैत्री बनाउन लैंगिक नीति अत्यावश्यक रहेको बताए । यसले हामीले उत्पादन गर्ने सामाग्री र हाम्रा व्यवहारलाई सुधार गर्न सहयोग पुग्छ।’ उनले भने ।
रेडियो जागरणका समाचार प्रमुख विनोद परियारले लैंगिक र समावेशी संचारमाध्ययम बनाउन ल्याइएका समावेशी क्षेत्रका पत्रकार नै अहिले अलपत्र परेको बताए । मेचीकाली दैनिकका सम्पादक अमृत गीरीले संचारमाध्ययमलाई सबैले अपनत्व गर्ने बनाउन लैंगिक नीति र व्यवहार बनाउन आफू तयार रहेको बताए । रासस लुम्बिनी प्रमुख भरत केसीले राज्यले लैंगिक समावेशी नीति अंगीकार गरेकाले अब संचारमाध्ययम पनि जसरी पनि लैंगिकमैत्री बन्नुपर्ने बताए । बुद्ध टेलिभिजनका व्यवस्थापक कपिल ज्ञवालीले लिखित रुपमा लैंगिक नीति नभएपनि टेलिभिजनमा ५० प्रतिशत महिलासहित समावेशी व्यक्तिहरुको सहभागिताले समावेशी बनाएको बताए । राज्य टेलिभिजनका प्रमुख हरिष ढकालले संचारमाध्यममा कर्मचारीदेखि सामाग्री उत्पादनलाई समावेशी बनाउन काम गर्ने बताए । ग्लोबल आवाज अनलाइनका निर्देशक गौतम भुसालले आफ्नो संचार गृहको हरेक काममा महिला र समावेशी व्यक्तिको सहभागितालाई बढवा दिएको बताए ।
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकार महासंघले सदस्यता वितरणदेखि कार्यसमितिमा लैंगिक समावेशीतालाई प्राथमिकता दिएको बताए । अबका दिनमा संचार गृहलाई लैंगिकमैत्री बनाउनेबारे पनि छलफल गर्ने उनले बताए । संचार परिषद लुम्बिनीका अध्यक्ष मिलन गाहले आर्थिक संकट हुने भएकाले अब पनि यो वा त्यो बहानामा लैंगिक र समावेशी मैत्री संचार गृह बनाउनबाट कोही पनि पछाडि हट्नु नहुने बताए । तीन तहकै सरकारले लैंगिक नीति बनाइसकेकाले अब संचारमाध्ययमले पनि लैंगिक नीति बनाएर कार्यान्वयनमा ल्याउनुपर्ने बताए । अग्रज पत्रकार तथा दैनिकपत्र दैनिकका संचालक एवं प्रधान सम्पादक बालकृष्ण चापागाईले संचारमाध्ययम आवाज वीहिनको आवाज भएकाले संचार सामाग्री उत्पादनलाई सबैले अपनत्व लिने बनाउन जरुरी रहेको बताए । त्यसका लागि लैंगिक समावेशीमैत्री संचारमाध्ययम बनाउन पहल थाल्ने बताए ।
द एसिया फाउण्डेसनको युएसएआईडी नागरिक समाज र संचार कार्यक्रम अन्तरगत संचारिका समूह नेपालले लैंगिक समानता र सामाजिक समावेशीकरणका लागि संचार पैरवी परियोजना अन्तरगत संचारमाध्यमलाई लैंगिक र समावेशी बनाउन अभियान चलाएको छ ।
नीतिगत बहस कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले संचारमाध्ययमलाई सबैले अपनत्व बनाउन लैंगिक मैत्री बनाउनुपर्ने बताइन् । त्यसका लागि संचारिका समूहले सहकार्य गर्ने उनले जनाए । कार्यक्रम संचालक एव सचिव रिया बस्नेतले संचारमाध्ययममा महिला र सिमान्तकृत समूदायको प्रवेश बढाउन र संचार सामाग्रीमा सबैको प्रतिनिधित्व गराउन लैंगिक नीति बनाउन काम थालेको बताइन् ।