बुटवलमा पहिलो मगर साहित्य महोत्सव शुरू

बुटवल ,
नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा बुटवलमा ‘प्रथम मगर साहित्य महोत्सव’ शुरू भएको छ ।महोत्सवको एक समारोहका बीच प्रतिनिधिसभाकी उपसभामुख इन्द्रिरा राना मगरले उद्घाटन गरेकी छन । सो अवसरमा बोल्दै उपसभामुख रानाले मगरहरुको सबै भन्दा इमानदार , सोझोपन र बाहादुर समुदाय भएकाे बताइन्।साथै उपसभामुख रानाले मगरहरुले देशलाई अहिलेको अवस्थामा ल्याउनका लागि महत्वपूर्ण योगदान दिएको बताइन् । रानाले मगर महिलाहरुले नै महोत्सवको आयोजना गरेकोमा खुशी व्यक्त गरिन् ।
यस्तै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलले सबै समुदायलाई समान रुपमा व्यवहार गर्ने गरेको बताए । उनले बुटवल उपमहानगरपालिकाले मगर भाषाको नागरिक वडापत्र ल्याएको समेत बताए । प्रमुख पाण्डेयले मगर समुदायलाई आवश्यक सहयोग गर्नका लागि आफू तयार भएको बताए । शनिवारसम्म चल्ने महोत्सवमा विभिन्न ७ वटा प्यानल डिस्कशन, मगर कविता बाचन प्रतियोगिता तथा श्रष्टाहरुलाई सम्मान लगायतका कार्यक्रम हुने छन् ।
महोत्सवमा प्यानल डिस्कशनका लागि अभियन्ता तथा नेपाली बैज्ञानिक महाविर पुन मगर, चर्चित नायिका मिरुना मगर, वरिष्ठ पत्रकार जे.बी. पुन मगर लगायत प्रतिष्ठित व्यक्तिहरुसँग प्यानल डिस्कशन गर्ने कार्यक्रम तय भएको छ । यस्तै महोत्सवमा समाजशास्त्री तथा अध्ययता सुरेश ढकालको प्रस्तुती रहने प्रचार प्रसार समितिका संयोजक यम रानाले जानकारी दिए । ढकालले तयार पारेको मगर जातीको ‘भेजा’ प्रणाली सम्बन्धि डकुमेन्ट्री प्रदर्शन तथा यस बारेमा छलफल गरिने उनले बताए । मगर समुदायको भाषा, साहित्य, ईतिहास र परम्परको संक्षणमा टेवा पुग्नेगरी आयोजना गरिने सम्मेलनमा कविता बाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, प्राचिन सामग्रीहरुको प्रदर्शन तथा विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिने भएको छ ।
महोत्सवमा मगर समुदायले बोल्ने ढूट, खाम तथा काईके गरी ३ वटै भाषामा कविता बाचन प्रतियोगिता हुने संयोजक रानाले बताए । देशभरका मगर साहित्यकार, कलाकार तथा फरक–फरक विधाका व्यक्तित्वहरुको सहभागिता रहनेलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि १०१ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको थियो । महोत्सवको प्रतिनिधिसभाकी पूर्व सभामुख ओनसरी घर्ती मगरले समापन गर्ने कार्यक्रम रहेको छ ।