संचारमाध्ययमलाई लैंगिक र सामाजिक समावेशीकरणमैत्री बनाउनु पर्छ : सभामुख घर्तीमगर

बुटवल – लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले अब संचारमाध्ययमलाई लैंगिक र सामाजिक समावेशीकरणमैत्री बनाउनु पर्ने बताउनुभएको छ । त्यसकालागि महिला र समावेशी क्षेत्रको प्रवेश र विषयलाई प्राथमिकता दिन उहाले आग्रह गर्नुभयो ।
संचारिका समूह लुम्बिनीले पत्रकार महिलाका लागि बुटवलमा आयोजना गरेको खोजमूलक समाचार लेखन कार्यशालामा बोल्दै सभामुख घर्तीले लुम्बिनी प्रदेशले बनाएको संचार ऐन कार्यान्वयनका लागि सुधार आवश्यक रहेको बताउनुभएको छ । त्यसका लागि के के कुरामा परिमार्जन आवश्यक छ भन्नेबारे सुझाब दिन उहाले आग्रह गर्नुभयो । संचार ऐनलाई लैंगिक र सामाजिक समावेशीकरणयुक्त बनाउन संचारिकाको सुझाब आवश्यक हुने उहाले बताउनुभयो । ‘हामी संविधानको मर्म अनुसार संचारमाध्ययम र संचार सामाग्रीलाई लैंगिक र सामाजिक समावेशीकरणमैत्री बनाउन चाहान्छौं । त्यसकालागि पत्रकार महिलाहरुको सुझाब सल्लाह आवश्यक छ,’ उहाले भन्नुभयो ।
सभामुख घर्तीले अबको समय खोजी समाचार लेखनको रहेको बताउदै प्रदेश सभाका समाचार लेख्न सधै पत्रकार महिलालाई सहयोग गर्ने प्रतिवद्धतासमेत जनाउनुभयो ।
सभामुख घर्तीले देशमा राजनीतिक परिवर्तन भएपनि सांस्कृतिक परिवर्तन नहुदा महिलाहरुलाई नेतृत्वमा पुग्न समस्या भएकोे बताउदै त्यस्तै समस्या संचारसम्वद्ध संस्थामा समेत देखिएको बताउनुभयो । व्यक्तिमा भएको पुरुषवादी चिन्तन नहट्दा नेतृत्वमा महिला स्वीकार नगर्ने गरेको बताउदै उहाले यस्तो परिपाटी विरुद्ध प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।
कार्यशालामा बोल्दै द एसिया फाउन्डेसनको नागरिक समाज र संचार कार्यक्रम लुम्बिनीका म्यानेजर लक्ष्मी नेपाली श्रेष्ठले पत्रकार महिलाहरुले आफ्नो क्षमता र सीप बढाउदै नेतृत्व तहमा पुग्नुपर्ने बताउनुभयो । समय र प्रविधिको विकाससंगै पत्रकार महिलालाई अब्बल बनाउन आफूहरुले पनि निरन्तर सहकार्य गर्ने उहाको भनाइ थियो ।
द एसिया फाउन्डेसनको नागरिक समाज र संचार कार्यक्रमको सहयोगमा कार्यशाला आयोजना भएको हो । बिहीबारबाट सुरु भएको कार्यशालामा रुपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम, पाल्पा र गुल्मीका गरी २० पत्रकार महिलाको सहभागिता रहेको थियो । कार्यशालामा अमृता अनमोल, रुपा गहतराज , सीपी खनाल लगायतले सहजीकरण गर्नुभएको थियो ।
पत्रकार महासंघमा निर्वाचित पत्रकार महिलाहरुलाई सम्मान
यसैबीच, संचारिका समूह लुम्बिनीले पत्रकार महासंघमा निर्वाचित पत्रकार महिलाहरुलाई सम्मान गरेको छ ।
सभामुख घर्तीको आतिथ्यतामा पत्रकार महासंघ लुम्बिनीमा उपाध्यक्ष पदमा निर्वाचित मीना ढकाल, रुपन्देही उपाध्यक्ष अस्मिना पाण्डे, सदस्य सुमित्रा चापागाई, कल्पना डुम्रे, अनिता चौधरी एवं प्रदेश परिषद सदस्य छाया पन्थ र विन्दु भट्टराईलाई सम्मानित गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले शुभकामना दिदै रचनात्मक काम गर्न आग्रह गर्नुभयो ।
यस्तै संचारिका सुत्केरी तथा प्रजनन स्वास्थ्य उपचार राहतकोषबाट संचारिका समूहका महासचिव माया केसीलाई सहयोग गरिएको छ । प्रजनन स्वास्थ्य उपचाररत केसीलाई ५ हजार रुपैयाँ सहयोग गरिएको हो ।