२०८२मा उद्योग व्यापार संघ व्यापार बुटवलले मेला गर्ने

2081 पौष 22 गते
२०८२मा उद्योग व्यापार संघ व्यापार बुटवलले मेला गर्ने

उद्योग व्यापार संघ बुटवलले पाँचौं औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एवं पर्यटन महोत्सव २०८२ आगामी २०८२ पुस ५ देखि १८ गतेसम्म गर्ने भएको छ । बुटवलका उद्योगी–व्यवसायीका मुख्य ४ संस्थाले  हरेक वर्ष आलोपालो मेला सञ्चालन गर्ने बुटवल उपमहानगरपालिकासँगको सहमति अनुसार  २०८२ साल पुसमा मेला गर्न लागेको संघले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।  बुटवल मण्डपमा यस अघिका भन्दा फरक र विशिष्ट तरिकाले  सम्पन्न  गर्ने उद्देश्यका साथ तयारीका काम सुरू भएको र २५० स्टल बुक भइसकेको उद्योग व्यापार संघ बुटवलका अध्यक्ष विष्णु प्रसाद पाण्डेले बताए । उनले मेला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकामा पुसमा मेला गत मंसिर ७ गते निवेदन दर्ता र मेलाको मिति तय भइसकेपछि २०८२ साल पुस ५ देखि १८ गतेसम्म मेला सञ्चालन गर्ने जानकारी पत्र पनि उपमहानगरलाई गराइसकेको अध्यक्ष  विष्णु प्रसाद पाण्डेले बताए ।  संघका निवर्तमान अध्यक्ष गोविन्द राज गैरेले बुटवलका ४ वटा संस्थाले आलोपालो मेला सञ्चालन गर्ने नियमअनुसार २०७८  सालमा संघले चौथो मेला सफलतापूर्वक सम्पन्न गरेको र आगामी २०८२ मा पाँचौं मेला गर्न लागेको बताए । 

संघका संस्थापक अध्यक्ष खिम नारायण पराजुलीले २०८२ सालको मेला यस अघिको भन्दा फरक र उत्कृष्ट बनाउन एक वर्ष अघि बाटै तयारी थालेको बताए । ‘स्वाधीन अर्थतन्त्र निर्माणका लागि औद्योगीकरण तथा व्यापार विविधिकरण’को मूल नारा सहित संघले मेलामा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने पराजुलीले बताए । 

संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी, उद्योग उपाध्यक्ष पदम जिसी, महासचिव यमलाल मरासिनी लगायतले बुटवलमा मेला तथा प्रदर्शनी गर्दै आएका अन्य तीन संस्था, सरोकारवाला सरकारी र गैरसरकारी निकायसँग सहकार्य गरेर मेलालाई हालसम्मकै उत्कृष्ट बनाउने गरी तयारी थालेको बताए ।