संकल्पको लुम्बिनी प्रदेश अध्यक्षमा रुपन्देहीकी जानकी घिमिरे

बुटवल, शान्ति न्याय र लोकतन्त्रका लागि समावेशी महिला समाज संकल्पको लुम्बिनी प्रदेश स्तरीय समिति पुर्नगठन भएको छ ।
रुपन्देहीको भैरहवामा शुक्रबार भएको भेलाले जानकी घिमिरेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । मानव अधिकारका लागि एकल महिला समूहका तर्फबाट घिमिरे अध्यक्ष बनेकी हुन् । समितिको उपाध्यक्षमा बाँकेको फातिमा फाउन्डेसनका अमना खातुन हलुवाइ बनेकी छन् । यस्तै, सचिवमा नागरिक समाज पाल्पाको अनिता थापा र कोषाध्यक्षमा दलित महिला संघ गुल्मीकी कमला बराल चयन भएकी छन् ।
आदिवासी जनजाति महासंघबाट प्युठानकी हिमकुमारी कुसुन्डा र रुपन्देहीकी धनकुमारी थारु , अपांग महिला महासंघका तर्फबाट कल्पना ढकाल, डब्लुडब्लुजेका तर्फबाट भगवती पाण्डे र विकल्प बर्दियाकी गंगादेवी वली सदस्य भएका छन् ।
संकल्पका केन्द्रीय अध्यक्ष संगीता लामाको प्रमुख आतिथ्यतामा प्रदेश स्तरीय समितिको अभिमुखीकरण तथा समिति पुर्नगठन कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष लामाले शान्ति न्याय र लोकतन्त्रका लागि महिला संजालहरुलाई एक गर्न संकल्प लागिपरेको बताइन् । उनले महिलाहरुलाई संगठित गर्दै सशक्त र प्रतिश्पर्धी बनाउन प्रदेश स्तरीय संजाल गठन गरिएको जनाइन् ।