३ सय ६५ दिन नै बजार अनुगमन र निगरानी गरौं : मुख्यमन्त्री

2081 पौष 27 गते
३ सय ६५ दिन नै बजार अनुगमन र निगरानी गरौं  :  मुख्यमन्त्री

बुटवल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चाडपर्वको साटो  ३ सय ६५ दिन नै  बजार अनुगमन र निगरानी गर्न आग्रह गर्नुभएको छ । बजारमा हुने अनुचित व्यापारलाई निरुत्साहित गर्न चाडपर्वको बेलामा मात्रै बजार अनुगमन र निगरानी गर्ने परिपाटी रोक्न उहाको आग्रह थियो । 

उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनीले शनिबार बुटवलमा आयोजना गरेको व्यवसाय र उपभोक्ताको मानव अधिकार सम्बन्धी कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले  अनुगमन र निगरानी गर्न स्थानीय तह र सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । उपभोग्य वस्तु र बजार अनुगम प्रणालीलाई व्यवस्थित गर्न प्रदेश सरकारलेसमेत अनुगमन संयन्त्र बनाउने बताउनुभयो। 

बुटवल उपमहानगरका उपप्रमुख सावित्रा आर्यालले उपभोक्ताको हितसंग खेलवाड गर्ने,  म्याद गुज्रेका, अखाद्य वस्तु उत्पादन तथा विक्रि वितरण गर्ने जो कोहीलार्ई कानुनी दायरामा ल्याउन अनुगमनलाई प्रभावकारी बनाउन लागेको बताउनुभयो । बजार अनुगमनका क्रममा हुने लान्छना र धम्की उल्लेख गर्दै उहाले सरोकारवालाको सहयोग विना सरकारले मात्रै बजार अनुगमन र नियमन गर्न नसकिने बताउनुभयो । उपभोक्ता हीत संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाले उपभोक्ताको हित विपरित काम गर्नेलाई कानुनी दायरामा ल्याउन तीन तहकै सरकारले कानुनको प्रभावकारी कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो । उहाले बजारमा हुने काला बजारी र उपभोक्ता अधिकार हनन् विरुद्ध नागरिक तह र उपभोक्ताको क्षेत्रबाट पनि निगरानी र खबरदारी गर्ने बताउनुभयो ।


-