वर्तमान सरकारले केही काम गर्दैन : नेकपा एसका महासचिव घनश्याम भुसाल

2081 पौष 27 गते
वर्तमान सरकारले केही काम गर्दैन : नेकपा एसका महासचिव घनश्याम भुसाल

उषाकिरण पन्थ

बुटवल, नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भुसालले काँग्रेस एमाले गठबन्दनको सरकार सत्ताकै लागि मात्रै बनेकाले केही काम नगर्ने बताएका छन् । रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकलाई सम्बोधन गर्दै महासचिव भुसालले  काँग्रेस र एमालेले संविधान संशोधनको कुरा गरेपनि त्यो गर्नका लागि नभई सत्तामा पुग्नका लागि मात्रै गरिएको बताए ।  उनले संविधानको कुरा या त नसोचेर ल्याए, या त झुक्याउन ल्याएको ठोकुवा गरे  । महासचिव भुसालले संविधान संशोधन काँग्रेस र एमालेले चाहेर मात्रै सम्भव  नहुने दाबी पनि दाबी गरे ।

महासचिव भुसालले सरकारले रास्वपाका सभापती रविलामिछानेको सन्दर्भममा एकै ठाउँमा मुद्धा चलाए हुनेमा बढी दुःख दिएको भान जनताले गरेको बताए । उनले राज्यले व्यक्तिगत बदला लिन नहुने बताउँदै सरकारकै कारण सडकमा गैरजिम्मेवार व्यक्तिहरुको आन्दोलन शुरु भएको बताए । उनले भने, ‘वर्तमान सरकारले नालयकी गर्छ, नालयकीको विरोध हुन्छ, त्यसले गैरजिम्मेवार व्यक्तिहरु अगाडि आउन सक्छन् ।’ महासचिव भुसालले अगुवा कार्यकर्ताहरुतर्फ इंगित गर्दै अब नेकपा एकिकृत समाजवादी पार्टीलाई आन्दोलनबाट स्थापित गर्ने बताए । उनले  स्थानीय, जिल्ला र प्रदेश हुँदै राष्ट्रिय स्तरका समस्यालाई आन्दोलनका रुपमा अगाडि बढाएर ८४ को निर्वाचनसम्म स्पष्ट मुद्धा बोक्ने पार्टीका रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाए । उनले राष्ट्रिय पुजीको विकास गरी सुदृढ मुलुक बनाउनुपर्ने बताए । 

बैठकमा नेकपा एकिकृत समाजवादीका पोलिटब्यूरो सदस्य एव रुपन्देही इन्चार्ज नन्दलाल बन्जाडेले सबैको प्यारो र अपनत्व हुनेगरी अगाडि बढाउने बताए । उनले पाटीको प्रस्ताव र केन्द्रीय समितिको सर्कुलका बारेमा जानकारी दिए । बैठकमा केन्द्रीय सदस्यहरु  भगवती अधिकारी, बाबुलाल यादव, उमा काफ्ले, सिद्धिचरण भट्टराई,सहित प्रदेशका, जिल्ला र जनवर्गिय संगठनका पदाधिकारीहरु सहभागी थिए । 

जिल्ला अधिवेशन चैत ९ गते  हुने 

विस्तारित बैठकले नेकपा एकिकृत समाजवादी रुपन्देहीको जिल्ला अधिवेशन आगामी चैत ९ गते  हुने भएको छ । जिल्ला उपाध्यक्ष चिनबहादुर गुरुङले बुटवलमा अधिवेशन गर्ने निर्णय गरेको बताए ।  यस्तै बैठकले आगामी माघ मसान्तसम्म सदस्यता नविकरण छुट भएका र नयाँ सदस्यता दिने निर्णय गरिएको उपसचिव द्धय टंक पोखरेल र मिरा श्रेष्ठले बताए ।

युवा संघका पूर्व अध्यक्ष सहित चार जना नेकपा एसमा

नेकपा एमाले निकट युवा संघ सिद्धार्थनगरका पूर्व अध्यक्ष प्रकाश भक्त श्रेष्ठ नेकपा एसमा समाहित भएका छन् । यसैगरी नेकपा एमाले क्षेत्र न. १ का पूर्व क्षेत्रिय सदस्य खेलकुद विभाग देवदहका प्रमुख अरुण गहतराज, एमालेका वडा न।७ का नेता विवेक श्रेष्ठ र मर्चवारका अनुप यादव पनि शनिबार नै नेकपा एकिकृत समाजवादीमा समाहित भएका छन् । महासचिव भुसालले चारै जनालाई टिका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए। 


.