खोइ दण्डरहित विद्यालय ?

अमृता अनमोल
घटना गत मंसिर १८ को हो । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–१ स्थित एच पाठशालामा सन्जु चौधरी यूकेजी पढाइरहेकी थिइन् । छुट्टी हुने बेला भएकाले विद्यार्थी पढाइमा एकत्रित थिएनन् । ६ वर्षीय प्रशान्त चौधरीले साथीसित सिसाकलम साटासाट गरिरहेका थिए । शिक्षकलाई आफूले पढाउने बेलामा त्यसो गरेको मन परेन ।
हातमा प्लास्टिकको लट्ठी थियो । त्यसले ताकेर बालक प्रशान्तलाई हानिन् । तर, लट्ठीले हातको साटो आँखामा लाग्यो । उनको देब्रे आँखा फुटेर रगत बग्न थाल्यो । बालकको आँखाबाट रगत बगेपछि विद्यालयले नै गोपीगन्ज बजारमा उपचारका लागि लग्यो । त्यहाँ उपचार सम्भव नभएपछि अभिभावकले परासी हुँदै रणअम्बिका आँखा अस्पताल भैरहवाबाट काठमाडौंको तिलगंगा आँखा अस्पताल पुर्याए ।
अस्पतालले मंसिर १९ मै शल्यक्रिया गरेर बाहिर निस्किएको नानीलाई भित्र लगेर घाउ सिलायो । तर, नानी फुटेकाले आँखाले देख्न नसक्ने अस्पतालका चिकित्सकले बताइसकेका छन् । शिक्षकको कुटाइबाट आँखाको ज्योति गुमाएका बालकको दाहिने आँखाले पनि राम्ररी देख्दैन । देब्रे आँखामा चोट लागेका कारण दाहिने आँखा पनि खोल्न र हेर्न नमिलेको हो ।
बालक एक्लै हिँडडुल गर्न सक्दैनन् । बेलाबेलामा आँखा दुख्यो र टाउको दुख्यो भनेर आत्तिने गरेका छन् । बालकका बाबु नरेन्द्रप्रसाद चौधरीका अनुसार चिकित्सकले अझै २ वटा शल्यक्रिया गर्नुपर्ने बताएका छन् । करिब एक वर्ष उपचारका लागि लाग्छ भने हप्ताहप्तामा अस्पतालमा फलोअप गराइरहनुपर्छ ।
कक्षा कोठाभित्रै शिक्षकले कुटेर ६ वर्षीय बालकको आँखा फुटेको घटना अहिले विद्यालय हुँदै प्रहरी र अदालतसम्म पुगेको छ । बालकका बाबु नरेन्द्रले पुस १६ गते शिक्षक सन्जु चौधरीको कुटपिटबाट छोराको अंगभंग भएको भन्दै इलाका प्रहरी कार्यालय बर्दघाटमार्फत प्रहरीमा घटना दर्ता गराएका छन् । प्रहरीले पुस १८ गते अदालतमा मुद्दा दायर गरी सन्जुलाई पक्राउ गर्न अनुमति लिएको छ । उनी स्नातककी विद्यार्थीसमेत हुन् । उनले परासीमा बसेर परीक्षा दिइरहेकी छन् ।
प्रहरीलाई शिक्षकले कुटेर बालकको आँखा फुटेको घटना खासै संवेदनशील लागेको छैन । यसैले मुद्दा दायर गरे पनि अभियुक्तको सोधीखोजी गरी पक्राउ गर्ने र घटना अनुसन्धान प्रक्रिया अगाडि बढाउने काममा चासो दिएको छैन । प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाल झुक्किएर घटना भएको बताउँदै शिक्षक पक्राउ नगर्दै स्थानीयस्तरबाट घटना मिलोस् भन्ने प्रतीक्षामा छन् ।
घटनापछि शिक्षक सम्पर्कमा नआएको बताउने एच पाठशालाले बालकको निःशुल्क उपचार गरिदिने र निःशुल्क पढाउने प्रतिबद्धतासहित मुद्दा फिर्ता लिन दबाब दिइरहेको छ । प्रधानाध्यापक सुजितकुमार गुप्ता बालकलाई निःशुल्क पढाउने र उपचार गरिदिने सर्तमा अभिभावकलाई मुद्दा प्रक्रियामा नजान सुझाव दिएको बताउँछन् ।
अभिभावकहरू प्रशान्तको आँखा फुटाइदिने शिक्षकलाई कारबाही र छोराको नाममा केही रकम बचत पनि होस् भन्ने आसमा छन् । तर, विद्यालयभित्रै शिक्षकको कुटाइबाट प्रशान्तको जस्तै बालबालिकाको दुर्घटना हुन नदिन विद्यालयलाई कसरी दण्ड र भयरहित बनाउने भन्नेमा कसैको चासो छैन ।
विद्यालयलाई दण्डरहित बनाउने अभियान चलेको धेरै भयो । २०६७ सालमै बालमैत्री विद्यालयको राष्ट्रिय प्रारूप तयार भएर लागू भएको छ । त्यसमा प्रत्येक विद्यार्थीले आफूलाई भौतिक रूपमा सुरक्षित, संवेगात्मक रूपमा रमाइलो र मनोवैज्ञानिक रूपमा मनोबल उच्च गराउने वातावरण भएको बालमैत्री विद्यालय बनाइने भनिएको छ ।
विद्यालयलाई भयमुक्त र बालमैत्री बनाउन धेरै कार्यक्रम सञ्चालन पनि भएका छन् । तर अझै विद्यालय दण्डरहित बनेका छैनन् । तराईका जिल्लामा दण्ड दिने चलन धेरै छ । सामुदायिकमा भन्दा निजी विद्यालयमा विद्यार्थीलाई धेरै दण्ड दिइन्छ । विद्यालय कारागारस्थल जस्ता बनाइएका छन् । नवलपरासी पश्चिममा यो समस्या अझ धेरै छ । शिक्षकले निर्घात कुट्ने र चोट पुर्याउने कारण भने ठूला छैनन् ।
अर्को उदाहरण हेरौं । घटना मंसिर १९ को हो । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–७ बर्दघाट कालिका इंग्लिस स्कुल कक्षा १ की विद्यार्थी कन्चना राजभर विद्यालय जान मन गर्न छोडेकी थिइन् । मंसिर १८ मा उनी स्कुल नै गइनन् । विद्यार्थी नआएपछि शिक्षक नीरञ्जन राजभर अर्को दिन बालिकाको घर गए । घरमा गाला र शरीरमा हातले चड्कन लगाए । बालिका डरले थुरथुर काप्दै विद्यालय गइन् । शिक्षकलाई लाग्यो, कुटेपछि विद्यार्थी विद्यालय आउने र पढ्ने रहेछन् ।
विद्यालय गएपछि पुनः शिक्षक राजभरले लट्ठीले निर्घात रूपमा कुटे । बालिका उठ्नै नसक्ने भइन् । बालिकाको अवस्था देखेर स्थानीय आक्रोशित भए । उनीहरूले विद्यालयमा तालाबन्दी गरे । अभिभावकले शिक्षक यादवलाई कानुनी कारबाही गर्न भन्दै इलाका प्रहरी कार्यालय बर्दघाटमार्फत प्रहरीमा उजुरी दिए । प्रहरीले शिक्षकलाई पक्राउ गरी एक दिन हिरासतमा राख्यो । तर, अर्को दिन गाउँपालिकाका जनप्रतिनिधि र विद्यालयका प्रतिनिधि गएपछि छाडियो । कानुनी कारबाही गर्नुको साटो जनप्रतिनिधिको साथ लगाएर पठाइयो । शिक्षकका कारण विद्यालयमा विद्यार्थी त्रसित छन् । यसबारेमा सरोकारवालाले ध्यानै दिएका छैनन् ।
दण्डको शाब्दिक अर्थ दमन गर्ने वा कुनै काममा नियमको पालना नगर्दा पाइने सजाय हो । हाम्रो शिक्षा प्राचीन समयमा गुरुकुलबाट सुरु भएको हो । त्यसबेला गुरु तथा ऋषिमुनिहरूले रूखको फेदमा वा कुटीमा बसेर पढाउँथे । वेद र पुराण कण्ठस्थ गर्न लगाउँथे । सुनाउन नसके कुटेर डर देखाउँथे । त्यही डरले विद्यार्थी कण्ठस्थ गर्न बाध्य हुन्थे ।
अहिले प्रविधिको युग हो । शिक्षा प्रणालीमा बालबालिकालाई घोकाउने र पढाउने होइन सिकाउने अभ्यास थालिएका छन् । यस्तो बेलामा पनि शिक्षकले लट्ठी लिएर पढाउनु अस्वाभाविक हो । शिक्षकले बालबालिकालाई दण्ड दिएर, डर र त्रासमा पढाउनु गलत हो । यसले बालबालिकाले भयरहित तरिकाबाट पढ्न र सिक्न पाउने नैसर्गिक अधिकारको धज्जी उडाएको छ ।
विद्यालयमा हेर्दा अहिले पनि शिक्षकले विद्यार्थीलाई लट्ठीले कुट्ने, डोरीले कुट्ने, हातले चड्कन लगाउने र कान तानेर दण्ड दिएका थुप्रै उदाहरण छन् । सजायका नाममा दिनभर कक्षाकोठा बाहिर उभिन लगाउने, कुखुरा बनाउने, उठबस गराउने, बेन्चमा उभ्याउनेलगायतका गतिविधि गराएको पाइन्छ । कसैले अपमानजन्य शब्दबाट गाली गर्ने, तनाव दिने, होच्याउने, जिस्काउने गरेर पनि मानसिक दण्ड दिएको पाइन्छ । यी सबै क्रियाकलापलाई कानुनले वर्जित गरेको छ । तर, विद्यालय र समुदायले सामान्य ठान्दा यस्ता गतिविधि रोकिएका छैनन् ।
बालबालिकाले विद्यालयमा कस्ता क्रियाकलापबापत दण्ड पाएका छन् त रु यसका कारण ठूला र गम्भीर छैनन् । धेरै बालबालिकाले गृहकार्य नगर्दा र शिक्षकले सोधेको ठिक उत्तर दिन नसक्दा दण्ड पाउँछन् । यसबाहेक स्कुल पोसाक नलगाउँदा, समयमा विद्यालय नआउँदा, शिक्षकलाई आदर नगर्दा, पढाउने समयमा चकचक गर्दा, साथीको सामान चोर्दा, कापीकिताब च्यात्दा पनि विद्यार्थीले सजाय पाएका हुन्छन् ।
यी विषयमा विद्यार्थीलाई दण्ड नै दिनुपर्छ रु सम्झाउँदा बालबालिकाले मान्दैनन् रु मान्छन् भने विद्यालय र शिक्षकले व्यवहार बदल्नुपर्छ । दण्डको साटो परामर्श गर्नुपर्छ । विद्यालयमा दिने दण्डले शारीरिक चोट त लाग्छ नै नदेखिने गरी बालबालिकामा मानसिक असर पर्छ । पढाइमा रुचि नलाग्ने, विद्यालय जान नमान्ने, खिन्न हुने, तनाव हुने, शिक्षक र विद्यालयप्रति नकारात्मक भाव पैदा हुने, कुलतमा लाग्नेदेखि आत्महत्यासम्मका घटना हुन्छन् । बालबालिका विद्यालयमा ज्ञान र सीप सिक्न आएका हुन् । यसैले पनि विद्यालयमा शारीरिक वा मानसिक कुनै दण्ड हुनु हुँदैन ।
संविधानको भाग ३९ मा बालबालिकाको हक उल्लेख छ । त्यसको ७ नम्बर बुँदामा कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन भनिएको छ । यसर्थ शिक्षाका नाममा बालबालिकामाथि शारीरिक वा मानसिक दण्ड वा यातना दिनु गलत हो । संविधानविपरीतको काम हो । यसलाई तीन तहकै सरकारले अनुगमन गरी रोक्न जरुरी छ ।
साभार.. कान्तिपुर दैनिक
,