लुम्विनी प्रदेश सरकारको बजेटको कमीले अधुरा भए विद्यालयका योजना

2081 माघ 11 गते
लुम्विनी प्रदेश सरकारको बजेटको कमीले अधुरा भए विद्यालयका योजना

रुपा गहतराज

नेपालगंन्ज , बालबालिकाको पढाईलाई व्यवस्थित गर्न विद्यालय भवन जरुरी हुन्छ । तर आफुखुसी टुक्रे योजनामा प्रदेशको बजेट बाँडफाँट गर्दा बाँके, बर्दियामा ४७ वटा विद्यालय भवनको निर्माण कार्य अधुरो हुन भएको छ ।

लुम्विनी प्रदेश सरकारको चालु आार्थिक बर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रमको १०५ नम्बरमा ‘स्थानीय तह सँगको समन्वय, सहकार्यमा विद्यालय सेवा क्षेत्र, (स्कुल डिस्ट्रिक) अवधारणा सम्बन्धि नीतिगत व्यवस्था गरिनेछ । गुणस्तरिय शिक्षाका लागि भौतिक पूर्वाधारका साथै शिक्षकको क्षमता विकास, शिक्षण सिकाई, परिवार र समुदायको शिक्षामा सहभागीता र जवाफदेहिता निर्माण जस्ता सामाजिक पुर्वाधार लक्षित कार्यक्रम सञ्चालन गरिनेछ ।’ भनिएको छ ।


आार्थिक बर्ष २०८१÷०८२ कै नीति तथा कार्यक्रमको १०९ नम्बरमा ‘शैक्षिक संस्थाको गुणस्तर अभिवृद्धिका लागि शैक्षिक सामाग्रीको व्यवस्था, शिक्षण सिकाई पद्धतीमा सुधार, सफल अनुभवको आदानप्रदान, अत्याधुनिक शिक्षण विधि र प्रविधिको उपयोग मार्फत स्थानीय तह सँगको सहकार्यमा ‘प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम’ सञ्चालन गरिनेछ । संघ, प्रदेश र स्थानीय तहको संयुक्त अनुगमन संयन्त्र निर्माण गरी अनुगमन तथा सुपरीवेक्षण कार्यलाई व्यवस्थित गरिनेछ ।’ भनिएको छ ।


तर व्यवहारिक रुपमा नीतिको कार्यान्वयन गर्न भौतिक पूर्वाधारबाट केही चुनौति भने आउने देखिएको छ । किनभने भौतिक पूर्वाधार सँग जोडिएका पुरानै योजना सम्पन्न हुन नसकी अधुरा अवस्थामा छोडिएको छ ।

भौतिक पूर्वाधारका मात्रै कुरा गर्दा पनि, श्री जय कालिका मावि बढैयाताल ९, मुनालवस्ती बर्दियाको २ कोठे पक्की भवन निर्माण गर्ने योजना आर्थिक वर्ष २०७७÷०७८ मा शुरु भएको थियो ।तर योजनाको प्रगति अवस्था हेर्दा झ्याल, ढोकाको पल्ला, ग्रील, रंगरोगन बाहेक अन्य कार्य मात्र सम्पन्न भएको छ । अब ३ लाख १० हजार रुपैयाँ बजेट भए मात्र बाँकी काम सम्पन्न हुनेछ ।

यस्तै श्री ज्ञानज्योति आ.वि. राप्तीसोनारी ५ बाँकेको २ कोठे भवन निर्माण गर्ने योजना आर्थिक बर्ष २०७८÷०७९ मा शुरु भएको थियो । योजनाको प्रगति अवस्था हेर्दा फाउण्डिसन सहित पिलर उठेको बाहेक अन्य काम हुन सकेको छैन ।अधुरो अवस्थामा रहेको भवनको निर्माण कार्य पूरा गर्न अब २५ लाख रुपैयाँ बजेट लाग्ने भएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम कुमार चौधरीले  आफनो विद्यालयको भवन निर्माण कार्यलाई पुरा गरिदिन माग राखे पनि अहिले सम्म कतैबाट बजेटको व्यवस्था नभएको बताए ।यसैगरी श्री भेरी मा.वि. राजापुर ८, बर्दियाको भवन निर्माण गर्ने योजना आर्थिक बर्ष २०७८÷०७९ मा शुरु भएको थियो । योजनाको प्रगति अवस्था हेर्दा फाउण्डिसन सहित पिलर उठेको बाहेक अन्य काम हुन सकेको छैन । अधुरो अवस्थामा रहेको भवनको निर्माण कार्य पुरा गर्न अब २० लाख रुपैयाँ लाग्ने भएको छ ।यसैगरी श्री ने.रा.आ.वि.नेपालगंज २, घरबारी टोल बाँकेको शौचालय निर्माणको योजना आर्थिक बर्ष २०८०÷०८१ मा शुरु भएको थियो । अधुरो शौचालयको प्रगति अवस्था हेर्दा फाउण्डिसन सहित पिलर उठेको बाहेक अन्य काम हुन सकेको छैन ।


अधुरो अवस्थामा रहेको शौचालयको निर्माण कार्य पुरा गर्न अब १२ लाख रुपैयाँ लाग्ने भएको छ ।


यस्तै श्री मैटहवा मा.वि. खजुरा १, राधापुर बाँकेको प्याराफिट निर्माणको योजना आर्थिक बर्ष २०८०÷०८१ मा शुरु भएको थियो । निर्माण कार्यको प्रगति अवस्था हेर्दा प्लाष्टर र रंगरोगन गर्न मात्र बाँकी रहेको छ । अब निर्माण कार्य पुरा गर्न १५ लाख रुपैयाँ लाग्ने भएको छ । यी त थिए, केही अधुरा प्रतिनिधि मूलक उदाहरण । यस्ता अधुरा विद्यालयका योजना बाँके, बर्दिया जिल्लामा ३५ वटा छन ।

अधिकांश भौतिक निर्माण कार्य सँग सम्बन्धित योजनाहरु लुम्विनी प्रदेश सरकार मातहत रहेको सामाजिक विकास डिभिजन कार्यालय, नेपालगंज, बाँकेबाट कार्यान्वयन भएका हुन ।


सामाजिक विकास डिभिजन कार्यालयका सूचना अधिकारी संन्जिव कुमार मण्डलका अनुसार बजेटको कमीले अधुरा भएका योजना सम्पन्न गर्न अब ४ करोड १८ लाख ६० हजार रुपैयाँ लाग्ने भएको छ । तर बजेटको टुगों भने अझै लागेको छैन ।सूचना अधिकारी संन्जिव कुमार मण्डल भन्छन्, ‘अधुरा भवनहरुको निर्माण कार्य पुरा गरेर प्रयोगमा ल्याउने भन्ने प्रदेश सरकारको नीति हो । राजनीतिक उथलपुथल, विस्तृत योजना बिनाका टुक्रे योजनाले गर्दा शिक्षा मन्त्रालयको मापदण्ड अनुसारका विद्यालय भवनहरु निर्माण गर्न बजेटको कमी भएको हो । चालु आर्थिक बर्षमा बन्ने संम्भावना छैन ।’

उनका अनुसार अब आगामी आर्थिक बर्षको बजेटमा अधुरा विद्यालयहरुको भवन निर्माणको योजना समावेश गर्ने गरी तथ्यांक लिईएको छ ।

यसैगरी स्थानीय तहलाईं प्रदेश सशर्त अनुदानबाट निर्माण कार्य शुरु भएका १२ वटा विद्यालयका योजनाहरु बजेटको कमीले अधुरा रहेका छन । अब योजना सम्पन्न गर्न २ करोड ७ लाख ९७ हजार रुपैयाँ बराबरको बजेट लाग्ने भएको छ । यी योजनामा पनि बजेटको टुगों लाग्न सकेको छैन ।

,