महिला मुक्ति आन्दोलनकी अग्रणी नेता मैयाँ भट्टराईको स्मृतिमा २ लाखको अक्षयकोष

बुटवल, नेपाली कम्युनिस्ट आन्दोलनकी अथक योद्धा एवम् महिला मुक्ति आन्दोलनकी अग्रणी नेता मैयाँ भट्टराईको स्मृतिमा २ लाखको अक्षयकोष घोषणा भएको छ । स्व मैयाँ भट्टराईको १२ओैँ पुण्यतिथिमा शनिबार उहाँका श्रीमान् रामचन्द्र भट्टराईले सो अक्षयकोषको घोषणा गर्नुभएको हो ।
अक्षयकोषबाट रुपन्देही जिल्लामा महिला मुक्ति र अधिकार प्राप्तिको आन्दोलनमा क्रियाशील महिलामभ्ये १ जनालाई प्रत्येक वर्ष सम्मान गरिने रामचन्द्र भट्टराईले एक समारोहमा जानकारी गराउनुभयो ।पूर्व सांसद एवम् कवि भट्टराईले आफ्नी श्रीमती मैयाँ भट्टराईको स्मृतिमा रू १ लाखको अक्षयकोषको घोषणा गर्नुभएको थियो । उ हाँका ज्वाइँद्वय हरि पहारी र हरि ज्ञवालीले रु ५०–५० हजार थप गरेपछि अक्षयकोषको रकम २ लाख भएको हो ।
प्रगतिशील संस्कृतिकर्मी, सुमधुर गायिका एवम् स्रष्टा मैयाँ भट्टराईको ७८ वर्षको उमेरमा यही माघ १ गते राति हृदयाघातका कारण निधन भएको थियोे । सो अवसरमा मैया भट्टराई स्मृति प्रतिष्ठानको पनि गठन गरिएको थियो। सोको संयोजकमा लक्ष्मीनाथ सुमेरु रहनुभएको छ। सदस्यहरुमा कविराज पौडेल, हरि पहारी, हरि ज्ञवाली, शारदा पहारी, सुजाता ज्ञवाली , शोभा भट्टराई, कुसुम भट्टराई र गुराँस भट्टराई रहनुभएको छ।प्रतिष्ठानको सल्लाहकारहरूमा प्रा. ऋषि भुसाल, डा. हिरण्यलाल ज्ञवाली, डा. बालकृष्ण चापागाई, नेतृ राधा ज्ञवाली र सीता खरेल रहनुभएको छ। प्रतिष्ठानको संरक्षकमा मैयाँ भट्टराईका श्रीमान् रामचन्द्र भट्टराई हुनुहुन्छ ।
प्रतिष्ठानले मैयाँ भट्टराईले नेपालको वामपन्थी आन्दोलन, महिला मुक्ति र अधिकार प्राप्ति र समाजसेवाका क्षेत्रमा गरेका योगदानको खोज अन्वेषण गरी प्रचारप्रसार र प्रकाशन गर्ने बताइएको छ । स्व मैयाँ भट्टराई नेपालको वामपन्थी आन्दोलनको सक्रिय महिला र भूमिगत कालखण्डकी कम्युनिस्ट सेल्टरदाता समेत हुनुहुन्थ्यो । उहाँको “फर्केर हेर्दा “ नामक संस्मरणात्मक कृति समेत प्रकाशित छ । लामो समयसम्म नेकपा एमाले र अनेमसंघमा काम गर्नुभएकी स्व. भट्टराई हाल एकीकृत समाजवादी पार्टीसँग नजिक हुनुहुन्थ्यो ।
.