मगर महिलाको कथामा आधारित चलचित्र दिलसराको बुटवलमा च्यारिटी शो

2081 माघ 14 गते
मगर महिलाको कथामा आधारित चलचित्र दिलसराको बुटवलमा च्यारिटी शो

बुटवल , मगर महिलाको कथामा आधारित चलचित्र दिलसराको बुटवलमा च्यारिटी शो गरिएको छ । 

दिलसरा अर्थात दह्रो दिल भएकी नारीको संघर्ष र सफलताको कथालाई जोडेर बनाइएको यस चलचित्रमा महिला सशक्तिकरणको विषयलाई महत्वका साथ स्थान दिइएको छ । महिला सशक्तिकरणसँगै मगर कला र सस्कृतिलाई उजागर गरिएको चलचित्र मगर महिला संघ बुटवलको आयोजनामा सोमबार मिलन चलचित्र हलमा च्यारिटी गरिएको हो । 

चलचित्र रुपन्देहीका विभिन्न संघसंस्था तथा मगर सम्बद्ध व्यक्तिहरुगरी ६ सय बढीले  हेरेका थिए । च्यारिटी शोबाट शंकलित रकमबाट मगर महिलाहरुको नेतृत्व विकास तथा संस्थागत समृद्धिका लागि प्रयोग गरिने नेपाल मगर महिला संघ बुटवल नगर समितिकी कार्यवहाक अध्यक्ष नन्दा थापाले बताइन् । नेपाल मगर महिला संघ केन्द्रीय अध्यक्ष हिरु रानाको प्रमुख आतिथ्यता रहेको च्यारिटी सोमा लुम्बिनी प्रदेश सञ्चार प्रतिष्ठानका अध्यक्ष मिलन गाहा लगायत विभिन्न मगरसँग सम्बन्धीत संघसस्थाको उपस्थिती रहेको थियो । 

हर्क आलेको लेखन तथा पटकथामा बनेको चलचित्रको कार्यकारी निर्माता  प्रेम थापा हुन् भने निर्माता हर्क आले, जुना थापा र मिना थापा रहेका छन् । मानोका फिल्मस् एण्ड मिडिया हाउसको ब्यानरमा बनेको दिलसरा चलचित्रको निर्देशन अशोक आले मगरले गरेका हुन्  । पटकथा लेखक मीना थापा हुन्छ । 

चलचित्र अनुसार  कास्की जिल्ला पोखरा महानगरपालिका–३३ निर्मलपोखरीको चिलाउनेखर्क भन्ने गाउँको मगर समुदायमा २४ सै घण्टा रक्सी खाने श्रीमान् र अत्यन्त मिहिनती श्रीमती भएको परिवार हुन्छ । परिवारमा बाबु, आमा र एक छोरी दिलसरा हुन्छन् । दिलसराको परिवारमा आम्दानीको स्रोत भनेकोे रक्सी र आमाछोरीले पालेका कुखुरा र बाख्रा बेचेको पैसा बाहेक केही हुँदैन । यही पैसामा परिवारको गुजारा चलिरहेको हुन्छ । त्यो पनि जड्याहा श्रीमानबाट जोगाउन सकेमात्रै ।  दिलसरा  अध्ययनमा अब्बल हुन्छिन् । घरमा बाबुले सधैँ रक्सी खाने र आमालाई काममा नसघाउने भएका कारण आमाको ‘हातको हथौँडा’ भएर घरको काम र आफ्नो अध्ययन सँगसँगै अगाडि बढाउँछिन् ।

अन्ततः उनी अनपेक्षित रुपमा साविकका कक्षा प्रथम हुने ‘पढ्न जान्ने’ भन्ने गरिएका अन्य ‘जात र लिङ्ग’का विद्यार्थीहरुलाई उछिन्दै कक्षा १२ को परीक्षामा विद्यालय प्रथम हुन्छिन् । तर उनको उच्च शिक्षा अध्ययन भने गरिबीका कारण अन्योलमा नै हुन्छ । यद्यपि उनको पढ्ने हुटहुटी भने मरेको हुँदैन ।


सोही गाउँमा अर्को एउटा परिवार पनि हुन्छ, जसको छोरा कमानसिंह लाहुरे हुन्छ । उक्त परिवारमा कमानसिंहकी आमा उच्च वर्गीय सोचकी हुन्छिन् । उनको माइतीमा भाउजु हुन्नन् । दाइले छोरी लिएर बसेका हुन्छन् । जसको नाम हुन्छ–रिमा ।

कमानसिंह पल्टनबाट छुट्टीमा आउँछ । उसको आमा बाबुले विवाह गर्न प्रस्ताव गर्छन् । आमाले भने आफ्नै भदैनी ९दाजुको छोरी रिमा० लाई बच्चामा ‘डोरी बाँधेको’ कारण उसैसँग विवाह गर्न जोड दिन्छिन् । यता कमानसिंह भने दिलसरासँग प्रेममा परिसकेको हुन्छ र अन्ततः एक दिन गाउँमा ‘छेवर’को दिनको राति दिलसरालाई भगाएर घर लैजान्छ ।

बाबुले छोराको निर्णयलाई मान्ने सोचमा हुँदाहुँदै पनि कमानसिंहको आमाको जिद्दी र कथित उच्च घरानियाँ स्वभावका कारण र दिलसरा ‘गरिब र जँड्याहाको छोरी’ भएकोले त्यो विवाहमा मञ्जुर हुँदिनन् बरु, कपटपूर्ण तवरले आफ्नै दाइको छोरी रिमासँगै कमानसिंहको विवाह गराइदिन्छिन् । कमानसिंहले आमासँग झगडा गर्छ तर आमाको ‘शत्रु हाँस्ने’ व्यहोराको धम्कीका अगाडि ऊ निरीह हुन्छ ।

मुखले आमासँग केही नबोले पनि उसको मनमा दिलसराले गहिरो गरी जरा गाडेर बसेकी हुन्छिन्, तर साथमा भने रिमा हुन्छन् । यही भावनात्मकता र वास्तविकताको द्वन्द्वमा कमानसिंहका ३ वटा छुट्टी रिमासँग नरमाई बितेर जान्छन् ।

उता दिलसरा भने न घरको न माइतको हुन्छिन् । उनको भविष्य र जीवनमाथि मडारिएको कालो बादलको उडानसँगै उनी गह्रौँ मन, अनिश्चित भविष्य र रूझेका परेलीलाई साथी लिई नजिकैको सहर पोखरा भासिन्छिन् । बाहिर हेर्दा सहर जति उज्यालो हुन्छ भित्र उत्तिकै कालो पनि हुन्छ । सुरुआतमा दिलसरालाई सहरको उज्यालोले देख्दै देख्दैन । भेट्दै भेट्दैन ।

देख्छन्, भेट्छन् त केवल सहरको उज्यालोभित्र लुकेका कालो मन भएका केही दुष्ट र भोगीहरुले मात्र । यद्यपि ती सबैबाट उनले आफ्नो शरीर र अस्मिता जोगाउँदै अगाडि बढ्छिन् । सबै जना सबै ठाउँमा दुर्जन मात्रै पनि कहाँ हुन्छन् र ? 

 कोही कोही त सज्जन पनि हुन्छन् नि १ यस्तै सज्जन हुन्छन् एक जना थोक तरकारी बिक्रेता जसले उनलाई घर घरमा तरकारी बेच्ने जागिर दिन्छन् । दिलसरालई त्यही भएपनि भोकालाई खीर बराबर हुन्छ । एवं रीतले तरकारी बेच्दै हिँड्ने क्रममा एकदिन उनी आफ्नै फुपु (निमा)को घरमा पुग्छिन् र निमालाई पूर्व वृत्तान्त सबै बताएपछि निमाले त्यहीँ बस्ने र पढ्ने व्यवस्था मिलाउँछिन् ।

दिलसराले राम्रोसँग पढ्छिन् । स्नातक तह उत्तीर्ण पश्चात चौथो प्रयासमा गण्डकी प्रदेश लोक सेवा आयोगको परीक्षामा उत्तीर्ण भएर जन्मघर भएको गाउँपालिकामा योजना विकास अधिकृत भएर पदस्थापन हुन्छिन् । उनको स्वागतमा आयोजित समारोहमा कमानसिंह, जो चौथो छुट्टिमा घर आएको हुन्छ, सबैभन्दा खुसी देखिन्छ ।

उता रिमा आफ्नो पति आफूसँग खुसी नभएको देखेर माइत फर्किन्छिन् । अन्ततः कमानसिंह र दिलसरा एक हुन्छन् । यसरी चलचित्रको कथाको सुखद् अन्त्य हुन्छ ।


uploaded picture