नर्सहरुको पेसागत हकहित र सुरक्षामा समस्या

2081 माघ 15 गते
नर्सहरुको पेसागत हकहित र सुरक्षामा समस्या

रुपन्देही  – आज ६३ औं नेपाल नर्सिङ दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । नर्सिङ संघको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाउँदै आइएको छ । तर, व्यक्तिको स्वास्थ्य रक्षामा अहोरात्र खट्ने  नर्सिङ पेसा अझैपनि व्यावसायिक बन्न सकेको छैन । जसले पेशाबाट पलायन हुने र विदेशिने क्रम बढेको छ ।

 नर्सहरुको पेसागत हकहित र सुरक्षाका लागि भन्दै २०१८ साल माघ १५ गते आजकै दिन नेपाल नर्सिङ संघको स्थापना भएको थियो । नेपालमा नर्सिङ पेसा व्यावसायिक बन्न नसकेको नर्सिङ अगुवाहरु बताउछन् । 

नर्सिङ काउन्सिलको तथ्यांक अनुसार हाल नर्सिड संघमा दर्ता भएका नर्सको सङ्ख्या एक लाख २१ हजार छ । तर, सबै जनशक्ति नेपालमा छैनन् । १८ हजार सरकारी र ३२ हजार पाँच सय निजी स्वास्थ्य संस्थामा कार्यरत गरी नर्सको सङ्ख्या ५० हजार पाँच सय छ ।  नेपालमा भविष्य नभएको भन्दै नर्सिङ जनशक्ति विदेशिने क्रम बढेकाले स्वास्थ्य क्षेत्रमा ठूलो असर पर्ने जोखिम छ ।

नेपालमा काम गर्न र पढ्नका लागि पर्याप्त वातावरण नभएको, बढी श्रम गर्नुपर्ने, तर तलब त्यसअनुसार नभएको भन्दै नर्सहरु विदेश जाने क्रम बढिरहेको छ । अहिले नेपालका धेरै स्वास्थ्य संस्थामा नर्सिङ जनशक्ति कम छ । 

एकातिर जागिर छाड्नेको सङ्ख्या धेरै हुँदै जाने र नयाँ कर्मचारी माग गर्दा पनि फारम भर्नेको सङ्ख्या कम हुँदै जानु स्वास्थ्य संस्थाहरूका लागि चिन्ताको विषय बनेको छ । नर्सहरु विदेश पलायन हुनेक्रमलाई रोक्न सरकारले केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखापरेका चुनौतीको सामना गर्नुपर्ने नर्सिङ संघकी अध्यक्ष चन्द्रकला शर्मा बताउनु हुन्छ ।


.