युवा र पुँजी पलायन नेपाली अर्थतन्त्रका लागि गम्भीर चुनौती

बुटवल,
बुटवलमा शनिबार आयोजित बढ्दो जनशक्ति र पुँजी पलायनले पारेको प्रभावू विषयक अन्तरक्रियामा सरोकारवालाहरूले नेपालबाट युवाशक्ति र पुँजी बाहिरिनु गम्भीर चुनौती भएको बताएका छन्।कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा भौतिक पूर्वाधार विकास समितिका सभापति राजजी प्रसाद घिमिरेले यो प्रवृत्ति २१० वर्षदेखि निरन्तर चल्दै आए पनि नियन्त्रण गर्नुको साटो झनै बढ्दै जानु दुखद भएको बताए।प्राज्ञिक बाबुराम ज्ञवालीले पुँजी पलायनभन्दा युवाशक्तिको चिन्ता लिनुपर्ने उल्लेख गर्दै, यदि युवाहरूलाई स्वदेशमै रोक्न र उत्पादनमूलक श्रममा लगाउन सकिए, पुँजी संकलन कुनै समस्या नहुने तर्क गरे। विदेश जानुभन्दा विदेशमै बसोवास गर्ने प्रवृत्ति घटाउनु आवश्यक रहेको बताउँदै, उनले परिवार र समाज नै यसका प्रमुख कारण भएको उल्लेख गरे।लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री भगवती अधिकारीले नेपालमा समस्या थुपार्ने तर समाधान खोज्ने संस्कृति नबसेको गुनासो गर्दै, विकासलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताइन्। साथै, विदेशमा ज्ञान आर्जन गरे पनि त्यसलाई स्वदेशमै प्रयोग गर्नुपर्नेमा उनले जोड दिइन्।
संविधान सभा सदस्य नेत्र पन्थीले नेपालको अर्थतन्त्र मात्र नभई समग्र प्रणाली नै लथालिंग भएको बताउँदै, विधि, सुशासन, र सामाजिक न्यायअनुरूप समाजवादतर्फ अघि बढ्नुपर्ने धारणा राखे।अर्थविद् मनिकर कार्कीले नेपाली समाज उत्पादनशीलतामा केन्द्रित हुन नसकेको उल्लेख गर्दै, सरकार आफैं खर्च धान्न नसक्ने आयोजनालाई गौरवमय योजना भन्दै जनतालाई भ्रममा पार्ने प्रवृत्ति गलत भएको बताए। शिक्षाविद् दलबहादुर गुरुङले प्रतिफल आउने क्षेत्रमा भन्दा अनावश्यक निर्माणमा लगानी गर्नु अर्थतन्त्रका लागि प्रतिकूल रहेको बताए। अनुसन्धान क्षेत्रमा न्यून बजेट छुट्याइएकाले दीर्घकालीन योजनाहरू प्रभावकारी बन्न नसकेको उनको भनाइ थियो। आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष हुमराज भुसालले नेतृत्व आलोचना गर्न मात्रै सक्षम भएको तर उत्पादनशील बनाउने पहल नगरेको आरोप लगाए। विप्रेषणले आर्थिक चलायमानता बढाए पनि हजारौं नेपाली युवाहरू सेतो कपडामा बेरिएर बाकसमा फर्किनु विडम्बनापूर्ण रहेको बताए। कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुली, डा. सागर न्यौपाने, अध्ययन केन्द्रका उपाध्यक्ष प्रशान्त आर्याल, कोषाध्यक्ष जिवन परियार, लगाएतका बक्ताहरूले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने, शिक्षालाई उत्पादनसँग जोड्ने, युवा उद्यमशीलतालाई प्रवद्र्धन गर्ने, र सरकारी नीति सुधार गर्ने आवश्यकतामा जोड दिएका थिए। भने संस्थाका सदस्य भोजराज न्यौपानेले नेपालको अर्थतन्त्र अवस्था सम्बन्धि अवधारणा पत्र प्रस्तुत गरेका थिए ।