रमेश टेक लाइ प्रथम आन्तरिक भेट्रान ब्याडमिन्टन प्रतियोगिताको उपाधी

2081 माघ 28 गते
रमेश टेक लाइ प्रथम आन्तरिक भेट्रान ब्याडमिन्टन प्रतियोगिताको उपाधी


(नेपालगन्ज)

बाकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बोझीमा प्रथम आन्तरिक भेट्रान र खुल्ला ब्याडमिन्टन प्रतियोगिता प्रथम आन्तरिक भेट्रान ब्याडमिन्टन प्रतियोगिताको उपाधि रमेश श्रेष्ठ र टेक बहादुर गुरुङले जितेका छन् । खुल्लातर्फ कमल देवकोटा र अज बहादुर शाहीको जोडी प्रथम भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्रले आयोजना गरेको ५० वर्षमाथिको भेट्रान प्रतियोगितामा रमेश र टेकको जोडीले किशोर आचार्य र ऋषिजंग शाहको जोडीलाई २१–११, २१–१२ अंकको सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । 

उपाधिसंगै रमेश र टेकको जोडीले ७ हजार रुपैयँ पुरस्कार पाएको छ । द्वितीय भएको किशोर र ऋषिजंगको जोडीले ५ हजार पाएको छ । भेट्रानमा जनार्दन रत्न मल्ल र अर्जुन खड्का तथा भोलानाथ सिटौला र अर्जुन रानाको जोडीले तृतीय हुदै दुई–दुई हजार पाएका छन् । 

खुल्लातर्फ कमल र अज बहादुरको जोडीले पवन चौधरी र बुद्धि लाल श्रेष्ठको जोडीलाई २–१ को सेटमा पराजित गर्दै उपाधिसहित ७ हजार जितेको छ । पहिलो सेट २१–१२ अंकले जितेको कमल र अज बहादुरको जोडी दोस्रो सेटमा २१–१२ मै पराजित भएको थियो । तेस्रो सेट २१–१३ ले जित्दै कमल र अज बहादुरको जोडी प्रथम भयो । 

द्वितीय भएको पवन र बुद्धि लालको जोडीले ५ हजार पुरस्कार पायो । खुल्लामा सन्दीप चौधरी र मनु गुप्ता तथा सन्तोष शाही र मदनराज उपाध्यक्षको जोडी तृतीय भयो । तृतीयले दुई हजार पुरस्कार पाए । प्रतियोगिताका विजेताहरुलाई नेपालगन्जका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, एसपी तुलबहादुर कार्की, वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल लगायतले पुरस्कार वितरण गरे । 

प्रशिक्षण केन्द्रका अध्यक्ष जनार्दनरत्न मल्लका अनुसार, ५० वर्षमाथिको भेट्रानमा २० र  खुल्लामा २६ टिमको सहभागिता रहेको थियो ।

एक करोड १५ लाख बढीमा बनाइएको धम्बोझीको ब्याडमिन्टन प्रशिक्षण केन्द्रमा बालबालिकालाई नियमित प्रशिक्षण दिने गरिन्छ । नियमित अभ्यास गर्न आउनेसंग केन्द्रले थोरै शुल्क लिने गर्दछ । केन्द्रले त्यसका लागि प्रशिक्षकको पनि ब्यबस्था गरेको छ ।