नेपालगन्जमा नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी

(नेपालगंन्ज)
नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी नेपालगन्जमा सुरु भएको छ । नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र महिला उद्यमी महासंघ नेपाल केन्द्रिय सदस्य शोभा ज्ञवालीले संयुक्त रुपमा प्रदर्शनीको उद्घाटन गरे ।
नेपालगन्जको बागेश्वरी मन्दिर परिसरको चिल्ड्रेन पार्कमा सुरु भएको प्रदर्शनी फागुन १० गते सम्म चल्नेछ । प्रदर्शनीको उद्घाटन गर्दै नगर प्रमुख विष्टले स्थानीय दिदीबहिनीहरुले उत्पादन गरेको वस्तुलाई महिला उद्यमी संघ नेपाल बाकेले उत्कृष्ट ढंगले प्रवद्र्धन गरिरहेको बताए। ,‘सबै क्षेत्रमा महिलाहरुको सहभागिता भयो भने मात्र समाजले प्रगति गर्न सक्छ । महिलाहरुलाई यस्ता अवसर महत्वपुर्ण हुन्छन् । उनले भने,‘महिलाहरुलाई उद्यमी बनाउने कार्यमा हामी सधै सकारात्मक भएर सहकार्य गर्न तयार छौ ।’
महिला उद्यमी महासंघ नेपालको केन्द्रिय अध्यक्ष शोभा ज्ञवालीले विन बाकेले सधै नमुना काम गर्ने गरेको बताइन् । ‘महिला उद्यमीहरुले उत्पादन गरेको वस्तुलाई हामीले अन्तराष्ट्रिय स्तरमा लग्ने काम सुरु गरेका छौं ।’उनले भनीन् ,‘ महिला उद्यममा सक्षम हुनु भनेको देशको आर्थिक विकासको आधार बलियो हुनु हो । देशको विकासमा स–साना उद्योगको महत्वपुर्ण योगदान छ ।’
विन लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्माले सात वटा स्टलबाट सुरु भएको प्रर्दशनी अहिले लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा पुगेको बताइन् ।
गाउ तथा सहरमा भएका महिलाहरुलाई आफनो सिप, क्षमता र स्थानीय वस्तुको प्रयोग गर्दै उद्यमशील बनाउने लक्ष्य सहित यो प्रदर्शनीको आयोजना गरिएको महिला उद्यमी संघ नेपाल बाके अध्यक्ष सावित्रा पोखरेल बस्नेतले बताइन् ।
उद्घाटन समारोहमा कोहलपुर नगरपालिका उप–प्रमुख संगीता सुवेदी, खजुरा गाउपालिका उपाध्यक्ष मन्जु मल्ल, बैजनाथ गाउपालिका उपाध्यक्ष निर्मला रोकाय, नेपालगन्ज उप–महानगरपालिका निवर्तमान उप–प्रमुख उमा थापा मगर लगायतले प्रदर्शनीको सफलताको शुभमकामना दिए ।
मंगलबार देखि सुरु भएको प्रदर्शनीको नवौं संस्करणमा बँके, बर्दिया, सुर्खेत, दाङ, प्युठान, रोल्पा, पुर्वी रुकुम, सल्यान लगायतका जिल्लाहरुबाट आएका महिला उद्यमीहरुले उत्पादन प्रदर्शनीमा राखिएको नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी–२०८१ को संयोजक एवम् तथा महिला उद्यमी संघ नेपाल बाकेको प्रथम उपाध्यक्ष रेवती सिंहले जानकारी दिइन् ।
प्रदर्शनीको मुख्य प्रायोजक केएल दुगर्ड ग्रुपका क्षेत्रीय निर्देशक प्रदिप छाजेडले महिलाहरुको उत्पादनलाई गुणस्तरीय बनाउन यस्ता प्रदर्शनी महत्वपुर्ण सावित हुने बताए ।
प्रदर्शनीमा करिब ६० वटा स्टलमा १ सय ५० भन्दा बढी उद्यमीहरुले आफनो उत्पादन राखेका छन् ।
प्रदर्शनी स्टलमा मस्यौरा, अल्लोबाट बनेको सामान, बेतको सामान, खुकुरी, भाँङ, स्थानीय उत्पादन बेसार, अचार, महँ, ह्याण्ड मेड जुत्ता, थाकल, ढाकाको कपडा, कासका सामान, हस्तकलाका सामान, तोरीका तेल, अण्डा लगायतका वस्तुहरु बिक्री वितरण तथा प्रवद्र्धन गरिएको छ ।
नेपालगन्ज उप–महानगरपालिकाको सहकार्यमा नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको मुख्य प्रायोजकको रुपमा केएल दुगर्ड रहेको छ भने घरेलु तथा साना उद्योग विभाग बाकेले सहयोग गरेको छ ।