संचार गृहमा कम्तीमा ३३ प्रतिशत महिला राख्न र तलबी सुबिधासहित सुत्केरी विदाको व्यवस्था गर्न माग

2081 फाल्गुन 27 गते
संचार गृहमा कम्तीमा ३३ प्रतिशत महिला राख्न र तलबी सुबिधासहित सुत्केरी विदाको व्यवस्था गर्न माग

बुटवल, संचार गृहमा कम्तीमा ३३ प्रतिशत महिला राख्न र तलबी सुबिधासहित सुत्केरी विदाको व्यवस्था गर्न सरोकारवालाहरुले माग गरेका छन् । त्यसका लागि महिलालाई समान काममा समान पारिश्रमिकको व्यवस्था गर्न पनि माग गरे । 

संचार तथा सुचना प्रविधि मन्त्रालयले मंगलबार बुटवलमा आयोजना गरेको महिला पत्रकारिता क्षेत्रको विकासको निम्ति सरोकारवालाहरुको क्षमता अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो जनाएका हुन् । संचारमाध्ययमलाई लैंगिकमैत्री बनाउन पत्रकार महिलाको संख्या र क्षमता अभिवृद्धि गर्न  सरोकारवालाहरुले सुझाव दिएका छन् । यसका लागि संचार गृह र तीन तहकै सरकारले लगानी बढाउनुपर्ने उनीहरुले बताए । संचार गृहलाई कम्तीमा ३३ प्रतिशत महिला राख्नुपर्ने, समान काममा समान पारिश्रमिक र तलबी सुबिधासहित सुत्केरी विदाको व्यवस्था गर्न अनिवार्य गर्न आग्रह गरे । 

कार्यक्रममा बोल्दै मन्त्रालयकी उपसचिव ममता वास्तोलाले पत्रकारितामा प्रवेशदेखि नेतृत्व तहसम्म पत्रकार महिलाको क्षमता बढाउनुपर्ने बताउनुभयो । त्यसकालागि क्षमता विकास र प्रोत्साहनका कार्यक्रम गर्ने उहाले बताउनुभयो ।

प्रेस काउन्सीलका निमित्त अध्यक्ष विजयराज अधिकारीले महिलालाई हेर्ने दृष्टिकोण कमजोर भएका कारण पत्रकार महिला पनि नेतृत्व तहमा पुग्न नसकेको बताउनुभयो । त्यसका लागि ऐन कानुन परिमार्जनदेखि दृष्टिकोण परिवर्तनको सुझाब दिएको उहाले बताउनुभयो । 

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख चमकान्त चपाईले पुरुषका तुलनामा महिला इमान्दार र कतव्यनिष्ट भएर पत्रकारिता गरेको बताउदै त्यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाले पत्रकार र पत्रकारितालाई राज्य र समाजले दिएको महत्वको गरीमा राख्न पत्रकारहरुलाई सुझाब दिनुभयो । पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले पत्रकारितामा महिलाहरुको सहभागिता र निरन्तरतालाई कायम राख्न सघाउने बताउनुभयो । 

कार्यक्रममा संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले पत्रकार महिलाको अवस्था, अवसर र चुनौतिबारे कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्र प्रस्तुत गर्दै उहाले संचार गृहले अझैपनि पत्रकार महिलालाई समान काममा समान पारिश्रमिक, अवसर र सुत्केरी विदा नदिएको बताउनुभयो । त्यसले गर्दा आमा बन्दा धेरै पत्रकार महिलाले पत्रकारिता छोड्नुपरेको बताउदै यसलाई रोक्न आग्रह गर्नुभयो । उहाले संचार गृहलाई कम्तीमा ३३ प्रतिशत महिला राख्नुपर्ने, समान काममा समान पारिश्रमिक र तलबी सुबिधासहित सुत्केरी विदाको व्यवस्था गर्न अनिवार्य गर्न संचार मन्त्रालय र प्रेस काउन्सीललाई आग्रह समेत गर्नुभयो । 

संचारिका समूह रुपन्देहीका अध्यक्ष मीना ढकालले पत्रकार महिलालाई प्रोत्साहन र आत्मविश्वास र क्षमता विकासका काम गर्न आग्रह गर्नुभयो ।  संचार तथा सुचना प्रविधि मन्त्रालयका अधिकृत थानेश्वर ज्ञवालीले पत्रकार महिलाले उठाएका सवाललाई नीतिगत रुपमा उठाउन मन्त्रालयमा बुझाउने बताउनुभयो । 


uploaded picture.

समाचार