हिंसा पीडितको सहजीकरणका लागि प्रहरीलाई मनोसामाजिक विमर्श तालिम

2081 चैत्र 03 गते
हिंसा पीडितको सहजीकरणका लागि प्रहरीलाई मनोसामाजिक विमर्श तालिम

बुटवल , हिंसा पीडितसँगको परामर्श र घटना सहजीकरणमा सघाउन प्रहरीलाई मनोसामाजिक विमर्श तालिम दिन थालिएको छ । 

 लैंगिक हिंसाका घटना निवारण र हिंसा प्रभावितको सुरक्षाका लागि भन्दै सरकारले देशभरका प्रहरी कर्मचारीको सीप र क्षमता विकास थालेको हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरीसँगको सहकार्यमा लैंगिक हिंसा, घरेलु हिंसा र बालबालिका सम्बन्धी संवेदनशील घटनाका पीडितहरुसँग परामर्श गर्ने , सुरक्षा र सहजीकरण गर्ने सीप सिकाउन थालेको हो । सही परामर्श नहुँदा पीडितले आफ्ना पीडा खोल्न नसक्ने र सही न्याय नपाउने गुनासो बढेपछि मन्त्रालयले हरेक प्रदेशमा प्रदेशस्तरीय मनोसामाजिक विमर्श तालिम दिन थालेको छ । मन्त्रालयका उपसचिव केशवप्रसाद उपाध्यायले ३ तहकै सरकारको समन्वयमा सीप तथा क्षमता विकास र पूर्वाधार विस्तारका काम थालेको बताउनुभयो । 

पहिलो चरणमा लैंगिक हिंसाका धेरै घटना हुने मधेश, लुम्बिनी र सुदुर पश्चिम प्रदेश छनोट भएका छन् । लुम्बिनी प्रदेशमा प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आइतबारदेखि प्रदेश स्तरीय मनोसामाजिक विमर्श तालिम सुरु भएको छ ।  तालिममा प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत १२ जिल्लाका प्रहरी जवानदेखि प्रहरी अधिकृतसम्म ३० जना सहभागी छन् । उनीहरुलाई १६ दिनसम्म पीडितसँग गर्ने व्यवहार र सामाजिक विमर्शका तरिका सिकाइने छ । 

लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र प्रमुख माधव प्रसाद श्रेष्ठले लैंगिक हिंसा प्रभावितको मनोभावना बुझेर परामर्श गर्न मात्र होइन हिंसाका घटना रोकथाममा सघाउने सीप सिकाउने गरी तालिम संचालन भएको बताउनुभयो । 

हिंसा पीडितको न्यायमा प्रहरी संवेदनशील हुनुपर्छ ः सामाजिक विकास मन्त्री तिमिल्सिना 

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले पीडितको न्यायको पहिलो ढोका नै प्रहरी भएकाले हिंसा पीडितका सवालमा प्रहरी संवेदनशील हुनुपर्ने बताउनुभएको छ । घर र आफन्तले गरेको हिंसा बताउने र आश्रय लिने स्थल समेत प्रहरी भएकाले प्रहरीले पीडितलाई आफ्नोस्थानमा राखेर परामर्श र सहजीकरण गर्न उहाँले सुझाब दिनुभयो । 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरीसँगको सहकार्यमा बुटवलमा सुरु गरेको प्रहरीका लागि  प्रदेशस्तरीय मनोसामाजिक विमर्श तालिम उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले प्रहरीमा हुने परामर्श र सहजीकरणको न्याय प्राप्ति र पीडितको पुर्नस्थापनामा ठूलो महत्व रहेको बताउनुभयो । उहाले पीडितलाई थप पीडित हुन नदिन, छिटो न्याय प्राप्ति गर्न र समुदायमा हुने हिंसा रोकथाममा पनि मनोसामाजिक विमर्श तालिम उपयोगी हुने अपेक्षा व्यक्त गर्नुभयो । 

मन्त्री तिमिल्सिनाले लैंगिक हिंसाका हिसाबले लुम्बिनी प्रदेश मधेशपछि दोस्रोमा रहेको बताउदै त्यसलाई रोक्न पनि प्रहरीमा सीप र क्षमता आवश्यक रहेको बताउनुभयो ।

उहाले प्रदेश सरकारले समेत हिंसा विरुद्धका विभिन्न कार्यक्रम अगाडि बढाएको बताउदै त्यसमा प्रहरीसँग आवश्यक समन्वय र सहकार्य हुने बताउनुभयो । घरबाट निकालिएका लैंगिक हिंसापीडितलाई कहाँ राख्ने भन्ने सवाल निकै समस्यायुक्त रहेको बताउदै त्यसलाई कम गर्ने उहाले बताउनुभयो । मन्त्री तिमिल्सिनाले संघीय मन्त्रालयको समन्वयमा दाङको घोराहीमा प्रदेशस्तरीय सुरक्षित दीर्घकालिन आवास गृह बनाउने काम अगाडि बढाएको समेत जानाकारी दिनुभयो । 


समाचार