एचआइभी सङ्क्रमित महिलाहरूको स्वास्थ्य उपचार र सुरक्षामा सघाउन माग

बुटवल, महिला सशक्तिकरण समाज नेपालले चआइभी सङ्क्रमित एवं यौनकर्मी महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्यका विषयमा बुटवलमा सरोकारवालाहरु र अन्य संघसंस्थाबिच अन्तरक्रिया कार्यक्रम गरेको थियो । आइतबार आयोजित सो कार्यक्रममा एचआइभी सङ्क्रमित एवं यौनकर्मी महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्यमा ध्यान दिन सरोकारवालाहरुले माग गरे । एचआइभी सङ्क्रमित एवं यौनकर्मी महिलाहरूको विषयमा कसैको पनि चासो नरहेको बताउदै यस्ता महिलाहरूको सुरक्षा र यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सवाल निकै चुनौतीपूर्ण रहेको उनीहरुले बताए ।
कार्यक्रममा बोल्दै सरोकारवालाहरुले अहिले पनि सबै एचआईभी संक्रमित उपचारको पहुँचमा आउन नसकेको गुनासो गरे । यौन कर्म, एचआईभी, एड्स तथा यौनरोग सम्वन्धी लान्छना र भेदभावका कारण धेरै उपचारको पहुँचमा नआएको उनीहरुको भनाइ थियो । दातृ निकायले संचालन गरेका कार्यक्रमहरु रोकिदै जादा उपचारमा आउनेका लागि पनि समस्या हो कि भनेर उनीहरु पिरोलिएका थिए ।
कार्यक्रममा सहजीकरण गर्दै जागृति महिला महासंघका अप्रेसन हेड राजन केसीले यौनकर्मी र एचआईभी संक्रमितको उपचारमा संवेदनशील हुन स्थानीय तह र सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । उहाँले पहुँचमा नभएकाको खोजी गर्न र सुरक्षा एवं उपचारमा सघाउन सुझाब दिनुभयो ।
एड्स हेल्थ केयर फाउन्डेसनका कार्यक्रम संयोजक धर्मराज भट्टराईले स्वास्थ्य भन्दा ठूलो विषय अरु नभएकाले संक्रमित आफै पनि संवेदनशील हुन आग्रह गर्नुभयो । उहाँले एचआइभी संक्रमीतको उपचारमा समस्या भए तत्कालका लागि उपचारमा सघाउने बताउनुभयो ।
कार्यक्रममा बोल्दै बुटवल ११ का वडा अध्यक्ष रामचन्द्र खनाल क्षेत्रीले दातृ निकायको सहयोग नभएपनि संक्रमीतको उपचारमा सघाउने बताउनुभयो । समग्र महिलाको सुरक्षा र आर्थिक अवस्था समस्यामा रहेको बताउदै उहाँले आर्थिक उपार्जनका अन्य विकल्प खोज्न पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा एचआइभी संक्रमीतहरुको महासंघका प्रदेश संयोजक अर्जुन ज्ञवाली, साकार समूहका अध्यक्ष राधिका पुन, नमुना एकिकृत विकास परिषदका सुमितराज भण्डारी , महिला सशक्तिकरण समाजका अध्यक्ष उमा श्रेष्ठ, सहजकर्ता उमा श्रेष्ठ लगायतले एचआइभी सङ्क्रमित एवं यौनकर्मी महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षाका बारेमा चुनौति र उपायहरु बताएका थिए । वमेन फन्ट एसियाको सहयोग रहेको कार्यक्रमको संचालन कार्यक्रम अधिकृत गंगा अधिकारीले गर्नुभएको थियो ।
.