वनविहार सिगार्ने पाण्डेय चुनावी मैदानमा

बुटवल, रुपन्देहीको शंकरनगर वनविहार र अनुसन्धान केन्द्र अहिले देशभरमा परिचित छ। यहाँ देशका विभिन्न स्थानबाट पर्यटकहरु घुम्न र रमाउन आउने गर्दछन्। २०६२ सालमा शंकरनगर गाउँ विकास समितिका सबै गाउँवासीका सहकार्यमा यो अनुसन्धान केन्द्रको शुरुवात भएको हो। यहाँको वनलाई पार्क बनाउनका लागि गाउँवासीको ठूलो योगदान रहेको छ।
शुरुमा यो विकास गर्न सकिँदैन भन्नेहरुको संख्या धेरै थिए, तर यो कार्य सम्भव छ भन्ने विश्वास राख्नेहरुमा खिमलाल पाण्डेय अग्रणी थिए। उनले काम गर्ने हिम्मत सँगै निरन्तर प्रयास गरे र दिनरात वनविहारमा संघर्ष गर्दै यो पार्कको रुपान्तरणको काम अघि बढाए। तिलोत्तमानगर पालिका वडा नं. १ का २०३४ सालदेखि बसोबास गर्दै आएका पाण्डेयले वनविहारलाई अनुसन्धान केन्द्र र पार्कको रुप दिनका लागि लामो समयदेखि परिश्रम गरिरहेका छन्। उनलाई चिन्नेहरुका अनुसार पाण्डेयको योगदान अनमोल छ। तिलोत्तमानगर पालिका वडा नं. ४ की माया केसी भन्छिन्, "मैले जहिले देखि खिमलाल पाण्डेयलाई चिने, वनविहार र पाण्डेय परिपुरक जस्तो लाग्छ। उहाँ सधैं वनबाटिकालाई सुन्दर बनाउने र पर्यटकलाई आकर्षित गर्ने नयाँ विचार ल्याउनको लागि काम गर्दै आइरहनु भएको छ।" अर्को स्थानीय विकास थापा पनि पाण्डेयको नेतृत्वमा वनविहारको समृद्धिका लागि योगदान गर्नुपर्नेमा जोड दिन्छन्। उनका अनुसार, "राजनैतिक दलको भन्दा पनि वनविहारको चिन्ता गर्ने व्यक्तिहरुलाई नेतृत्वमा पुर्याउनुपर्ने हो।" यस कारण, पाण्डेयलाई मत दिने पक्षमा उनी दृढ छन्। पाण्डेयलाई उनका समर्थकहरूले अत्यधिक मान्यता दिएका छन्। उनका अनुसार, "हिजो यो वनविहार फोहोर र झाडीले भरिएको थियो, अहिले भने यो पार्कको रुप लिइरहेको छ। अरुले भनेका केही कुरा वेवास्ता गर्दै, मैले मेरो सपना पछ्याउँदै यहाँसम्म ल्याएको छु। अब, म यो अनुसन्धान केन्द्रको नेतृत्वमा जाने सोचमा छु।" पाण्डेयका अनुसार, "अबको उद्देश्य भनेको वनविहारलाई राष्ट्रिय पार्क बनाउने, प्राणी उद्यानको स्तर उन्नति गर्ने, बाल उद्यानको निर्माण पूरा गर्ने र यसलाई देशको नमुना पार्क बनाउनका लागि काम गर्ने हो।" रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नं. १ र २ मा स्थित शंकरनगर वनविहार र अनुसन्धान केन्द्रमा प्रवेश शुल्क ५० रुपैयाँ तोकिएको छ। यसले वार्षिक ३५ लाख रुपैयाँ कर सरकारलाई तिर्ने गरेको छ। ५१.३४ हेक्टर क्षेत्रफलमा फैलिएको यस वनविहारमा बाल रेल, बाल उद्यान, प्राणी उद्यान र ३१ वटा पिकनिक स्पट रहेका छन्। यसपाली, वनविहारको नयाँ कार्य समिति चयनका लागि चुनावी माहोल सिर्जना भएको छ। विभिन्न राजनैतिक दलहरूले आफ्ना प्यानल बनाएर मत मागेका छन्। पाण्डेय भने कुनै राजनैतिक दलको पक्षमा नरहँदै स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी मैदानमा उत्रेका छन्। यसवेला वनविहारमा ७ सय ७५ जना मतदाता रहेका छन्।
.